९ हजार नेपाली कोरोना शंकाको घेरामा



काठमाडौं । कोरोना भाइरस ९कोभिड(१९० संक्रमणको आशंकामा सरकारले ९ हजारभन्दा बढी नागरिकलाई निगरानीमा राखेको छ।

कोरोना संक्रमण पुष्टि भएका ८ जना (संक्रमितको कूल संख्या ९ भए पनि एक निको भइसकेकाले) सँग सम्पर्क गरेका व्यक्ति, विदेशबाट आएका र कोरोनासँग मिल्दाजुल्दा लक्षण देखिएका ९ हजार २ सय ८० जनालाई सरकारले शंकाको घेरामा राखेको हो।

दैनिक लाइभ कार्यक्रममार्फत कोरोनासम्बन्धी अपडेट प्रस्तुत गर्ने क्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले काठमाडौं उपत्यकाभित्र १२ र बाहिर ९५ गरी कोरोना आशंकित १०७ जना आइसोलेसनमा रहेको जानकारी दिए।

यसैगरी देशभर ९ हजार १ सय ६८ जनालाई क्वारेन्टिनमा राखिएको उनले बताए। साथै स्वास्थ्य मन्त्रालयले सञ्चालन गरेको हाम्रो स्वास्थ्य मोबाइल एप्समार्फत सम्पर्कमा आएका ५ जनालाई लक्षणका आधारमा ‘रेड जोन’ मा राखिएको प्रवक्ता देवकोटाले जानकारी दिए।

‘बितेका २४ घण्टामा हाम्रो एप्समार्फत १२ जनाले आफ्नो जिज्ञासा राखेका छन्,’ सोमबार दिउँसो कोरोनासम्बन्धी अपडेटको लाइभ कार्यक्रममा बोल्दै उनले भने, ‘तीमध्ये ५ जनामा कोरोनासँग मिल्दा लक्षण देखिएका छन्, त्यसैले उनीहरूलाई रेड जोनमा राखेका छौं र निरन्तर फलोअप गरिरहेका छौं।’

यी सबै मिलाउँदा सरकारले अहिलेसम्म कोरोनाको आशंकामा निगरानीमा राखेका व्यक्तिको संख्या ९ हजार २ सय ८० पुगेको हो।

nepalkhabar

प्रतिक्रिया दिनुहोस