शनिबार, १० असोज २०७७

हिमाल चढ्न नेपाल आइपुग्यो बहराइनको राजपरिवार



काठमाडौं । मनास्लु र लोबुचे हिमाल आरोहणका लागि बहराइनका राजपरिवार सदस्यसहितको टोली आज बुधबार काठमाडौं आइपुगेको छ ।

बुधबार विहान साढे ११ बजे त्रिभुवन विमानस्थल आइपुगेको टोलीमा १८ जना रहेको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।  टोलीमा तीनजना बेलायती नागरिक छन् भने बाँकी सबै बहराइनी नागरिक हुनुहुन्छ ।

रोयल गार्ड बहराइनको सो टोली विशेष विमानमार्फत काठमाडौं आइपुगेको हो।

उहाँहरुले ८ हजार १६३ मिटर उचाईको मनास्लु र ६ हजार ११९ मिटरको लोबुचे हिमाल आरोहण गर्नुहुनेछ ।राजपरिवार सदस्य सहितको टोली पहिलोपटक हिमाल चढ्न लागेको हो।

बहराइन राजपरिवार सदस्य मोहम्मद हामद मोहम्मद अलखालिफाले हिमाल आरोहणको नेतृत्व गर्नेछन्। बेलायती नागरिकहरु रिचार्ड वारेन म्याकनेल, फिलिप क्लो र क्रिस्टोफर एन्थोनी पनि टिमका सदस्य छन्।

उक्त टिममा बहराइनका इब्राहिम मोहम्मद अब्दुल्लाह इब्राहिम मोहम्मद, मोहम्मद अलि जासिम अहमद अल्बोइनाइन, अराफात हमुद नाजी गुर्वाह, इब्राहिम खली इब्राहिम जायेद मोहम्मद अल्जाजाफ, अहमद सइद इसा अल्काबी, आरिफ फिरोज शाह मुराद कलन्दर गुलाम, मोहम्मद अदुल रहमान युसुफ अल्कावारी, खालिद अलि हसन इब्राहिम हसन अल्दोसेरी, अब्दुलाजिज राफेया अब्बर खालिफ अलावेद, खालिद सुल्तान मोहम्मद अब्दुल्लाह अल्शिर्वाई, मुराद मोहम्मद युसुफ अब्दुल सायेद, इब्राहिम अलि सालेम जावेर, सउद हमाद मुबारक हमाद इद र मोहम्मद इसा अब्दुल्लाह युसुफ अल्क्विस छन्।

टोलीलाई लोबुचे हिमाल चढ्न दुई हप्ता र मनास्लु चढ्न एक महिना लगाउनेछ ।यो आरोहणलाई टोलीले आगामी वसन्त ऋतुमा सगरमाथा आरोहणको पूर्वतयारीका रुपमा हेरेको बताइएको छ । नेपालमा रहँदा उहाँहरुलाई नेपालका गाइडलेसमेत सहयोग गर्नेछन्।

दुइटा हिमाल आरोहण गरेपछि अर्को वर्षको वसन्तकालीन याममा सगरमाथा आरोहण गर्ने टोलीको मुख्य लक्ष्य रहेको छ । कोभिड–१९ का कारण सुस्ताएको नेपालको पर्यटन बजारलाई यो हिमाल आरोहण अभियानले मध्यपूर्वलगायत संसारभर प्रचारमा सहयोग पुर्‍याउने छ ।

प्रतिक्रिया दिनुहोस