शुक्रबार, १९ मंसिर २०७७

बैतडीमा बस दुर्घटना : नौ जनाको मृत्यु, ३४ घाइते



बैतडी । बैतडीमा बस दुर्घटना हुँदा नौ जनाको मृत्यु भएको छ भने ३४ जना घाइते भएका छन् ।

दार्चुलाको गन्नाबाट महेन्द्रनगरका लागि छुटेको पवनदुत यातायातको ना ५ ख ५१४१ नम्बरको बस गएराती साढे १० बजेतिर दुर्घटनामा परेको हो ।

जिल्लाको पाटन नगरपालिका–८ खोड्पेमा सानो घुम्तीबाट बस ६ सयमिटर तल खसेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
मृतकहरुको सनाखत हुन बाँकी रहेको बैतडीका प्रमुख प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिनुभयो ।

मृतक मध्ये सात जना पुरुष र दुई जना महिला रहेका छन् ।

दुर्घटनामा परी घाइते भएका ३४ जना मध्ये गम्भीर घाइते सात जनालाई धनगढी रेफर गरिएको छ भने बाँकी २७ जनाको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको प्रहरी नायव उपरीक्षक अधिकारीले जानकारी दिनुभयो ।

मृतक मध्ये आठ जनाको शव घटनास्थलबाट निकालिसकिएको छ भने, एक जनाको बससँगै अड्किएकाले आज दिउँसो निकालिने प्रहरी नायव उपरीक्षक अधिकारीले बताउनुभयो ।

प्रहरी र स्थानीय मिलेर राती नै घटनास्थलबाट घाइतेहरुको उद्धार गरिएको छ भने मृतकको शव निकालिएको छ । मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पातल ल्याउँदै गरेको प्रहरी नायव उपरीक्षक अधिकारीले जानकारी दिनुभयो ।

तिहारको समयमा ठूलो दुर्घटना भएपछि बैतडीबासी शोकमग्न भएका छन् । दुर्घटना कसरी भएको हो भन्नेबारेमा अझै एकीन भइनसकेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस