शुक्रबार, १९ मंसिर २०७७

दश दिनभित्र चीनका रक्षामन्त्री नेपाल आउँदै



काठमाडौं । चीनका स्टेट काउन्सिलर तथा रक्षामन्त्री जनरल वेइ फेङहे दश भित्र नेपाल आउने पक्का भएको छ ।

दक्षिणी छिमेकी भारतको प्रशासनिक तथा सुरक्षा निकायका उच्च अधिकारीहरु नेपाल भ्रमणमा आउने क्रम बढेका बेला उत्तरी छिमेकी चीनले पनि उच्च राजनीतिक भ्रमण तय गरेको हो ।

वेइ फेङहे नोभेम्बर महिनामै नेपाल आउने पक्का भएको बताइएको छ ।
चीनबाट नेपालमा उच्चस्तरीय भ्रमण तय गर्ने क्रममा रक्षा वा विदेश मन्त्रीमध्ये एक जना आउने प्रस्तावमाथि छलफल हुँदा अन्ततः रक्षामन्त्री नै आउने निश्चित भएको हो।

चीनका राष्ट्रपति सी चिनफिङले गत वर्ष अक्टोबर १२–१३ मा भ्रमण गरेयता स्टेट काउन्सिलर तथा रक्षामन्त्री वेइ फेङहे नेपाल आउने संभवतः पहिलो उच्च चिनियाँ अधिकारी हुनुहुनेछ ।

जनरल वेइ सन् २०१८ मार्चदेखि चीनको उपप्रधानमन्त्रीपछि पहिलो नम्बरका स्टेट काउन्सिलर र रक्षामन्त्रीको जिम्मेवारीमा हुनुहुन्छ । चिनियाँ सेना पीएलएको रकेट फोर्स कमाण्डर रहिसकेका वेइ राष्ट्रपति सी चिनफिङ अध्यक्ष रहेको केन्द्रीय सैन्य आयोगका चारमध्ये पहिलो नम्बरका सदस्य हुनुहुन्छ ।
लद्दाखको गलवान क्षेत्रमा चीन र भारतीय सेनाबीच तनाव बढिरहेका बेला सेप्टेम्बर ३ मा रुसको राजधानी मस्कोमा चिनियाँ रक्षामन्त्री वेइले भारतीय रक्षामन्त्री राजनाथ सिंहसँग भेटवार्ता गर्नुभएको थियो ।
अहिले भारतीय सेना र सुरक्षा अधिकारीको नेपाल भ्रमण बाक्लिँदै गएका बेला बेइजिङले पनि रक्षामन्त्री वेइको भ्रमण तय गरेको हो।

 

प्रतिक्रिया दिनुहोस