शनिबार, १० असोज २०७७

नेकपा विवाद : चलमल चित्तको भावशुन्य चरित्र



खै ‘चित्त’को चर्चा कुन शब्दले गरौ, यो आफैमा ओजिलो, मोहक, भावनात्मक र आकर्षक छ । नढाटी भन्नु पर्दा अहिले राज्यको तीन अङ्ग कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकामात्र हैन चौथो अङ्ग भनिने पत्रकारिता र नेताहरु समेत यहि शब्द जालमा रुमलिरहेका छन् ।
नेपाली शब्दकोषमा चित्तको अर्थ देखेको, चिताएको, अन्तस्करण, मन, ह्रदय, विचारशक्ति आदी भनेर लगाईएको छ । जसले मानिसलाई सजिलै परिर्वतन गर्न र भावविभोर, भावनात्मक, भावशुन्य बनाउन सक्छ भन्ने कुरा अर्थले नै अथ्र्याएको पाईन्छ । चित्तको चर्चा विगतमा खासै भएको पनि हैन, न कसैले चित्तको चरित्रको बारेमानै खोजि गरेका हुन् । तर जब चित्तले न्यायालयको चरित्रमै प्रश्न उठायो मानिसहरुले चित्तको अर्थ र विशेषतामात्र हैन चरित्र समेत खोतल्न थाले ।

श्रीमती हत्या आरोपमा जिल्ला र पुनरावेदन अदालतबाट जन्मकैदको सजाय पाएका शसस्त्रका पुर्व डिआईजी रञ्जन कोईरालालाई सर्वोच्च अदालतका प्रधान न्यायधिस समेतको इजलासले २०७७ असार १५ गते चित्तमा लागेकै कारण ११ बर्ष कैद माफ गर्ने फैसला सुनाएपछि चित्तको चर्चा एकाएक चुलिएको हो । सर्वोच्चबाट भएका अन्य केहि मुद्दाहरुमा पनि चित्तले काम गरेको अनुमान न्याय क्षेत्रसंग सम्बन्धितहरुले लगाउने गरेका छन् । जे होस, सर्वोच्च अदालतलेनै पछिल्लो समय न्यायलयको विषयमा अनावश्यक टिकाटिप्पणी हुने गरेको भन्दै चित्त दुखाएकोले अहिलेलाई न्यायधिशहरुको चित्तमा लागेको, लाग्नसक्ने जस्ता कुरा छोडौ ।

तर चित्तको चर्चालाई चटक्क छोड्न भने सकिन्न । किनभने चित्तको प्रयोग न्यायलयमा मात्र हैन माथि उल्लेख गरिएजस्तै राजनीति, पत्रकारिता लगायतका क्षेत्रमा समेत उत्तीकै हुने गरेको देखिन्छ । नेपाल कम्युनिष्ट पार्टी नेकपा भित्र देखिएको पछिल्लो उतार चढावलाई नै हेरौन, कहिन कही चित्तको चरित्रले काम गरेको प्रष्ट देखिन्छ । विशेषगरी नेकपा भित्रको राजनीतिक अस्थितामा अध्यक्ष पुष्पकमल दहाल, बामदेव गौतम, रामबहादुर थापाहरुको चित्तले काम गरेको पाईन्छ ।

सुरुमा पुष्पकमल दहालको चित्तको चर्चा गरौ, उनको चित्त बढा लचकदार छ । क्षणमै भावनात्मक हुने, क्षणमै भावशुन्य बन्ने । नेकपा भित्र देखिएको अहिलेको विवाद (प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुबै पदबाट राजिनामा दिनुपर्ने) को सुरु सुरुमा अध्यक्ष पुष्पकमल दहाल प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा उभिए । किड्नीको विरामी, काम गर्ने समय थोर भएको, पार्टी एकतामा महत्वपूर्ण भूमिका खेलेको आदी कारण देखाउदै दहालको चित्त भावनात्मक बन्यो र ओलीको पक्षमा उभिदै पाँच बर्षे कार्यकालमा आदी आदी समय प्रधानमन्त्री हुने कुरालाई नै छोडेर पुरै अवधि ओलीलाई नै प्रधानमन्त्रीमा सर्मथन गर्ने सहमति गरिदिए ।

तर दहालको चित्त धेरै लामो समय भावनात्मक बन्न सकेन । नेकपाका बरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनालसंग भएको पछिल्लो उठबस तथा चोचोमोचोले दहालको चित्तलाई एकाएक भावशुन्य बनाई दियो । स्थाई कमिटी बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले भारतले आफ्नो राजिनामा मागेको दुःखेसो गरिरहदा दहाल राजिनामा भारतले नभै आफुले मागेको भन्दै ओलीले प्रधानमन्त्रीमात्र हैन पार्टी अध्यक्ष समेत छोड्नु पर्ने भन्दै कड्कीए । फेरी कता कता दहालको चित्त भावनात्मक बन्न खोज्यो र हैन ओलीले दुबै पदबाट राजिनामा दिदा पार्टी एकतामा असर पर्छ भन्दै दुबै पदमा टिकाउनु पर्ने तहमा पुगे । यो लेख तयार हुदासम्म दहालको चित्तले खास आकार ग्रहण गरिसकेको छैन । उनको मन भित्र द्वन्द्व चलिरहेको छ भावनात्मक र भावशुन्य बीच । बाँकी भगवान भरोसा, दहालको चित्त भावनात्मक बन्ने हो की भावशुन्य बनिदिने हो ।

रामबहादुर थापाको चित्त पनि अनौठो ढङ्गले चलमलाइ रहेको छ । बैठक होस या बहस जुनसुकै ठाँउमा कम बोल्ने थापाको चित्त कैले दहाल प्रति भावनात्मक बनेर ओली प्रति भावशुन्य भै दिन्छ, कैले ओलीप्रति भावनात्मक भएर दहालप्रति भावशुन्य भै दिन्छ । पछिल्लो समय भने दहालको चित्त निक्कै स्थिर बनेको देखिन्छ । दहालप्रति भावशुन्य बनेका थापा ओली प्रति भावनात्मकमात्र बनेका छैनन् ओलीको विकल्प नभएको निष्कर्षमा पुगेर आफ्ना सर्मथक स्थाई र केन्द्रीय कमिटी सदस्यहरुलाई गोलबन्द गर्दै छन् । यसले पार्टीमा ओलीको पल्ला भारी बनाउने कुरामा सहयोगी भूमिका खेलेको छ ।

बामदेव गौतमको चित्तको त झन कहि कोहिसंग तुलनानै हुन सक्दैन । अघिल्ला कुरा छोडौ २०५४ सालदेखिको अवस्था विश्लेषण गर्ने हो भने पनि गौतमको चित्तले मुलुकको समग्र राजनीतिमै भयङ्कर धक्का दिदै आएको छ । २०५४ सालमा तत्कालिन एमालेमा माधवकुमार नेपाल, केपी शर्मा ओली, झलनाथ खनालहरुसंग चित्त दुखाउदा गौतमले पार्टीनै फुटाई दिए । त्यतिबेला उनको चित्त सिपि मैनालीसंग मात्र आएको थियो । त्यसपछिका दिनहरुमा गौतमको चित्त कैले माधव नेपालसंग, कैले झलनाथ खनालसंग र कैले केपी शर्मा ओलीसंग लाग्ने गरेको छ । र यो मेसोमा पुष्पकमल दहाल पनि थपिएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी नेकपाको पछिल्लो छिना झम्टिमा बामदेव गौतमको चित्तले निर्णायक भुमिका खेल्दै आएको छ । गौतमको चित्त जता लाग्यो उसैको पल्ला भारी । विवादको सुरुवाति दिनमा गौतमको चित्त दहाल, नेपाल, खनालहरु तिर लागेको थियो । उनीहरुको तर्क, तौर तरीका र तजविजले मुलुकको समग्र विकास तथा कम्युनिष्ट शासनको निरन्तरतामा महत्वपूर्ण प्रभाव पर्ने ठानेका गौतम उनीहरु प्रति यति धेरै भावनात्मक बनेकी ओलीले दुबै पदबाट राजिनामा दिनुको विकल्पै छैन भन्दै कुर्लिए । तर गौतमको चित्त दहाल, नेपाल, खनाल समुहमा धेरै समयसम्म लाग्न सकेन । के र कहाँको प्रभावले हो गौतमले पार्टी एकताको लागि ओलीको विकल्प नभएकोे निष्कर्ष सहित ६ बुँदे प्रस्ताव अघि सारे र दहाल समूहप्रति भावशुन्य बनिदिए । अर्थात एकाएक गौतमको चित्त ओलीप्रति लाग्यो र उनीप्रति भावनात्मक बनिदिए । शङ्कै गरेको त हैन तर गौतमको चित्त ओलीप्रति कति समयसम्म लागिरहन्छ त्यसको अनुमान भने स्वयम गौतमले समेत गर्न सक्लान जस्तो लाग्दैन । दहाल र गौतमको चित्त निक्कै लचकदार छ, कोहि प्रति तुरुन्तै लागिहाल्ने र छोडिपनि हाल्ने ! चित्तको चर्चा गरिरहदा एउटा कुरा भने अपवाद भै दिएको छ, माधवकुमार नेपालको चित्त अहिले स्थिर देखिन्छ । नत्र सितिमिति स्थिर रहने चित्त हैन नेपालको । कैले यता, कैले उता चनचल भै रहने चित्त थियो नेपालको ।

अब चित्तको चर्चामा केपी शर्मा ओलीको चित्तको बारेमा भने खासै छलफल, टिकाटिप्पणी र बहस आवश्यक नहोला । किनभने उनको चित्त यति रुखो र एकोहोरो छ की हत्तपत्त कसैमा लागिहाल्दैन । झन माओवादी पृष्ठभुमिका कमरेडहरुमा त ओलीको चित्त पटक्कै लाग्दैन । २०५२ सालमा माओवादीले शसस्त्र द्वन्द्व सुरु गरेदेखिनै ओलीले दहाल लगायतको चित्त दुखाएका हुन् । माओवादीको हत्या राजनीतिको खरो आलोचना गरेका हुन् । र त्यो क्रम पार्टी एकता नहुदाको अवस्थासम्म कायमै रह्रयो । २०७४ सालमा के भैदियो कुन्नी फ्याट्ट माओवादी प्रति उनको चित्त लागिदियो र पार्टी एकता भयो । तर विडम्बना अहिले ओलीको चित्त दहालसंग यसरी टाढियोकी एकता भएको तीन बर्षमै विभाजनको सङ्केतहरु देखिन थाले ।

दहालको कुरा छोडौ ओलीको चित्त भारतसंग समेत यति धेरै धाजा फाटेर टुट्यो की सदिऔ देखि कायम रहेको भारतको दवदवालाई उनले क्षणभरमै तहसनहस गरिदिए । नत्र अघिल्ला प्रधानमन्त्रीहरुले भारतसंग जोडि खोज्दै आफ्नो भूमि समेटेर नक्सा जारी गर्ने आँट कहाँ गर्न सकेका थिए र ! अचम्म के भने अघिल्ला प्रधानमन्त्रीहरु को चित्त राष्ट्रप्रति आउनु नपर्ने यीनलाई चाहि किन आउनु परेको हो । ओलीको चर्चा, ओलीको प्रशंसा, ओलीको हाईहाई र सिमित व्यक्तिहरुले भन्ने वाई वाईमा पनि यहि चित्तको भुमिका छ । ओलीको चित्त यति मजबुद र इमान्दार नभैदिएको भए न नक्सा जारी हुने थियो, न चर्चा र प्रशंसा हुने थियो अनि न सहकर्मीहरुबाटै आलोचना र आक्रमण नै हुने थियो ।
चित्तको मामिलामा पत्रकारहरु पनि कम छैनन् । पत्रकारको चित्त लाग्यो भने कसैलाई रातारात चर्चामा ल्याईदिन्छन् अनि चित्त दुखाए भने राम्रै गर्नेलाई पनि गलत सावित गरिदिन्छन् । नेपालको पत्रिका र पत्रकारहरुको लेखाई हे¥यो भने अचम्मै लाग्छ । त्यहि घट्ना, त्यहि व्यक्ति कुनै पत्रकार वा पत्रिकाको लागि असल हुन्छ । अनि कुनै पत्रकार वा पत्रिकाको लागि खराब हुन्छ । यसमा दोष घट्ना वा घट्नासंग जोडिएको व्यक्तिको हुदैन, दोष घट्ना वा व्यक्तिलाई पत्रिकामा प्रस्तुत गर्ने पत्रकारको चित्तको हुन्छ ।

त्यसैले भन्नै पर्छ यो चित्तको चरित्र विचित्रको छ । कतिखेर कसलाई लाग्छ र कता फाट्छ पत्तै हुदैन । हुन त चित्तको चरित्र अस्थिर नहुने हो भने न न्यायलयको बारेमा प्रश्न उठ्थ्यो न नेताहरुको बारेमा नानाथरी कुरा नै सुन्नु पथ्र्यो । चित्तको चरित्रकै कारण भावनात्मक माया र भावशुन्य आक्रोशको अस्थित्व रहेको न हो ।

[email protected]

०७७ साउन १७

प्रतिक्रिया दिनुहोस