शनिबार, १० असोज २०७७

कोरोना छल्दै जटापोखरी–पाँचपोखरी



कोरोनाको त्रास कसैमा देखिदैन, कमिलाको तातिजस्तै मानिसको भीड छ, त्यसैले त जटापोखरी–पाँचपोखरीको यात्रा रोमाञ्चित र निर्धक्कको छ । हिन्दु र बौद्ध धर्माम्वलम्बिहरुको संगम स्थल मानिने जटापोखरी–पाँचपोखरीमा जनैपूर्णीमाको दिन लाग्ने विशेष मेलाको लागि यो बर्ष १० औ हजार मानिस पुगेका छन् ।

लेखक

मनले चिताएको एउटामात्र कुरा माग्यो भने पुरा हुने जनविश्वासका कारण विशेषगरी जनैपूर्णीमाको दिन लाग्ने मेला भर्न दोलखा, रामेछाप, ओखलढुङ्गा, सोलुखुम्बु लगायतका जिल्लाबाट हजारौ दर्शनार्थी जटापोखरी–पाँचपोखरी पुग्ने गरेका छन् ।

दोलखाको जिरी नगरपालिका र रामेछापको गोकुलगंगा गाँउपालिकाको सिमानामा पर्ने जटापोखरी– पाँचपोखरी क्षेत्रमा जनै पूर्णीमाको मेला भर्न दोलखाका रमेश चौलागाई यो बर्ष समेत गरी पाँच पटक पुगिसकेका छन् । धार्मिक आस्थामात्र हैन प्राकृतिक सुन्दरताको कारण पनि कठिन पैदल यात्रा पनि रोमाञ्चित र उत्साहित हुने गरेको रमेशको अनुभव छ । गत बर्ष दुई हजारको हाराहारीमा पर्यटक पुगेको जटापोखरी–पाँचपोखरीमा यो पटक कोरोनाको त्रास हुदाहुदै पनि १० हजार जति पर्यटक पुगेको रमेशले बताए ।

झण्डै चार महिनाको लक डाउनमा घरमै कुँजिएर बस्नु पर्दाको असहजता हटाउन र धार्मिक विश्वास तथा प्राकृतिक सुन्दरता चिहाउन दशौ हजार मानिस जटापोखरी–पाँचपोखरी पुगेको स्थानिय बताउछन् ।

पोखरीको नामाकरण
४२५० मीटरको उँचाईमा रहेको जटापोखरीलाई स्थानियले हिमतालकै रुपमा ब्याख्या गर्दै आएका छन् । बर्षमा झण्डै ६ महिना जटापोखरीको पानी जम्ने गर्छ । चैत्र देखि भदौसम्म मात्र जटापोखरीको हिउँ पग्लने स्थानियको भनाई छ । जटापोखरीको नामाकरणको विषयमा तथ्यगत प्रमाण केहि नभेटिएपनि पोखरीको आकार नरिवलको जटाको जस्तो भएकोले ‘जटापोखरी’ भनिएको स्थानिय जेष्ठ नागरिकहरु सुनाउने गर्छन ।

पाँचपोखरी भने जटापोखरी भन्दा माथि ४६०५ मीटरको उँचाईमा रहेको छ । एउटै पोखरी भएपनि बीच बीचमा उठेको प्राकृतिक बाँधले पोखरीलाई पाँच कुण्डमा विभाजन गरिदिएको छ । त्यसैले पनि यो पोखरीलाई पाँचपोखरी भनिएको स्थानियको भनाई छ । जटापोखरी–पाँचपोखरी भन्दा अघि रामेछाप जिल्लाको उमाकुण्ड गाँउपालिकामा पर्ने भूतपोखरी, बहुलापोखरी आदी ठाँउमा समेत जान सकिने स्थानिय बताउछन् ।

 

कसरी पुग्ने ?
जटापोखरी–पाँचपोखरी पुग्न दोलखा सदरमुकाम चरिकोट या रामेछाप सदरमुकाम मन्थलीबाट बसमा यात्रा गर्न सकिन्छ । झण्डै चार घण्टाको बस यात्रा पछि रामेछापको गोकुलगंगा गाँउपालिका वडा नम्बर १ चुचुरेको शिवालय हुदै खहरे पुगिन्छ भने खहरेबाट ६÷७ घण्टाको पैदल यात्रामा पर्यटकिय आर्कषणको केन्द्र मानेडाँडा पुग्न सकिन्छ ।

मानेडाँडाको विश्राम र प्राकृतिक दृश्यावलोकन पछि झण्डै २/३ घण्टाको पैदलयात्रामा जटापोखरी–पाँचपोखरी पुग्न सकिने गोकुलगंगा गाँउपालिकाका अध्यक्ष खड्गबहादुर सुनुवारले बताए ।

जटापोखरी–पाँचपोखरीको धार्मिक एवं प्राकृतिक महत्वबारे प्रचार प्रसार गर्ने र हरेक मौसममा अधिक पर्यटक भित्राउन बिभिन्न ठाँउमा होम स्टे तथा भ्यु टावरहरु निर्माण गर्ने योजना गोकुलगंगा गाँउपालिकाले बनाई रहेको अध्यक्ष सुनुवारको भनाई छ ।


तस्विरहरुः सर्मिला बुढाथोकी

प्रतिक्रिया दिनुहोस