शुक्रबार, १० बैसाख २०७८

रक्सी कम्पनीमा जागिर खुल्यो, काम रोजेर गर्नुस्, तलब ११ लाख र बस्ने घर



काठमाडौं। एउटा मदिरा फ्याक्ट्रीमा निकै गजबको जागिर खुलेको छ । यहाँ काम गर्न जाने मानिसले फ्याक्ट्रीमा हुने कामहरुमध्ये रोजेर आफूलाई मन पर्ने काम गर्न पाउनेछन् । र, यसवापत ती व्यक्तिले मासिक ११ लाख ६० हजार रुपैयाँ तलब पाउनेछन् । त्यसमाथि यी जागिरेलाई बस्ने घर पनि कम्पनीले दिनेछ जसको भाडा लाग्ने छैन ।

सीएनएनको रिपोर्टअनुसार १० हजार डलर मासिक तलब अफर गरेको यो कम्पनी अमेरिकाको हो । कम्पनीको नाम मर्फी गुडे वाइनरी हो जसले वाइन उत्पादन गर्छ । कम्पनीले अमेरिकाको क्यालिफोर्निया राज्यको सोनोमास्थित आफ्नो फ्याक्ट्रीमा काम गर्नको लागि यो जागिर खुलाएको हो । यो जागिरको सबैभन्दा खास कुरा यो हो कि यो कामको लागि छानिएका व्यक्तिले आफूलाई मन पर्ने काम गर्न पाउनेछन् ।

रिपोर्टका अनुसार कम्पनीले यो जागिर पाउने व्यक्तिलाई आफ्नो प्यासन (लगाव) मा निखार ल्याउने मौका हुने बताएको छ । जागिर पाइसकेपछि सुरुवाती केही महिना वाइनरीमा फरक फरक काम गर्नु पर्नेछ । त्यसपछि ती व्यक्तिले त्यहाँका कामहरुमध्येबाट आफूलाई मन पर्ने काम रोज्न पाउनेछन् । जागिर पाउने व्यक्तिले फ्याक्ट्रीका विभिन्न कामको जानकारी हासिल गर्नुपर्नेछ र इकमर्सबारे पनि सिक्नुपर्नेछ । व्यक्तिले अलग अलग टिमसँग सहकार्य गर्नुपर्नेछ ।

यो कम्पनी १९८५ मा स्थापना भएको थियो । पहिलो पटक कम्पनीले २००९ मा यस्तै किसिमको जागिर अफर गरेको थियो । त्यतिबेला उम्मेदवारलाई आफ्नो काम सामाजिक संजालमा प्रवर्धन गर्न भनिएको थियो । अहिले पुनः अफर गरिएको यो जागिरमा आवेदन दिने व्यक्तिको उमेर २१ वर्षभन्दा बढी हुनुपर्नेछ ।

यो जागिरका लागि आवेदन दिन चाहने व्यक्तिले अमेरिकामा काम गर्न अनुमति पाएको हुनुपर्नेछ । उम्मेदवार यो काम किन गर्न चाहन्छन् भन्ने बताइएको भिडियो रिज्युम पठाउनुपर्नेछ । कम्पनीले सही उम्मेदवारको छनोट रोल भ्यालु, सिर्जनशीलता, डिजाइन, कौशल र अनुभवका आधारमा गरिने बताएको छ । आवेदन दिनको लागि ३० जुनसम्मको समय दिइएको छ ।

dcnepalbata

प्रतिक्रिया दिनुहोस