बिहिबार, ०८ असोज २०७७

एकदिवसीय क्रिकेटमा नेपालले बनायो विश्व कीर्तिमान



काठमाडौं । नेपालले अमेरिकालाई एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा ३५ रनमा अलआउट गर्दै विश्व कीर्तिमान बराबर गरेको छ ।

कीर्तिपुर मैदानमा आयोजित विश्वकप क्रिकेट लीग २ को अन्तिम खेलमा स्पिनरहरू सन्दीप लामिछानेले छ र सुसन भारीले चार विकेट लिएपछि अमेरिका न्यूनतम रनमा समेटिएको हो।

योसँगै नेपालले श्रीलङ्काले सन् २००४ मा जिम्बाब्वेलाई ३५ रनमा सीमिति पारेर बनाएको कीर्तिमान बराबरी बनाएको हो ।

तर जिम्बाबेले १८ ओभर खेलेको थियो भने अमेरिकाले १२ ओभर मात्रै खेल्यो।

यो सबैभन्दा कम बलमा विपक्षी टोलीलाई आउट गरेको नयाँ कीर्तिमान हो। यसअघि यो कीर्तिमान अफगानिस्तानले सन् २०१७ मा जिम्बाबेलाई १३।५ ओभरमा ५४ रनमा अलआउट गरेर बनाएको थियो।

लामिछानेले छ ओभर बलिङ गर्दै १६ रन दिएर छ विकेट लिए। यो नेपाली खेलाडीको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा राम्रो बलिङ हो।
भारीले तीन ओभरमा पाँच रन दिँदै चार विकेट लिए जुन नेपाली खेलाडीको तेस्रो राम्रो बलिङ हो।

अमेरिकाका लागि ओपनर जाभियर मार्शलले १६ रन बनाए भने अन्य कुनै पनि खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन्।

यसअघि भएको अर्को खेलमा पनि नेपालले अमेरिकालाई हराएको थियो। तर ओमानसँग भएका दुई खेलमा नेपाल पराजित भएको थियो।

प्रतिक्रिया दिनुहोस