शनिबार, २५ बैसाख २०७८

प्राकृतिक विपद्को सामना : राष्ट्रिय नारा र नवीन कार्ययोजनासहित अघि बढौं



मुलुकका विभिन्न भाग यतिबेला डढेलो र आगलागीको चपेटाले आक्रान्त छन् । यस्ता विभिन्न प्राकृतिक विपद्हरू हामीकहाँ आइरहन्छन् । हामीले सकेसम्म यिनको स्थायी समाधान खोज्ने बाटो अबलम्वन गर्नुपर्छ । यसमा तत्कालका लागि उद्दार, राहत, पुनःबसोवासको व्यवस्था गर्नुपर्छ ।

सबैभन्दा महत्वपूर्ण कुराचाहिँ हामीले स्वास्थ्य क्षेत्रमा ‘निरोगी नेपाल’ लाई मूल नीति भनेजस्तै यसमा पनि हामीले प्राकृतिक विपत्तिमुक्त नेपाल बनाउने प्रयास गर्नु पर्छ । विपत्तिमुक्त भन्नुको अर्थ त्यसबाट क्षति नहुने स्थिति बनाउने हो । मान्छे वनचरबाट सुरक्षित रहने । भुइँचालो जाँदा पनि केही नहुने । तलतल घस्रिने, माथि घरचाहिँ केही पनि नहुने । अलिअलि मात्रै हल्लिन्छ तर तलतल घस्रिन्छ । जमिन घस्रिए पनि घरचाहिँ केही पनि हुँदैन । गगनचुम्बी घर बनाएर बसेको जात हो मान्छे । त्यसकारण भुइँचालोबाट पनि सुरक्षित रहन सक्छ । मान्छेले आगलागी हुनै नदिने प्रबन्ध गर्न सक्छ । बाढी आउँनै नदिने प्रबन्ध गर्न सक्छ ।

वर्षा हुन्छ । वर्षायाममा खोलामा बढी आउँछ । पानी पर्ने वर्षे सिजन हो । ड्राई सिजन पनि हुन्छ । तर, त्यसको रोकथाम पहिले नै राम्ररी गरिएको हुन्छ । पहिलो कुरा हामीले नेपाललाई सुरक्षित कसरी बनाउने भन्नेतिर सोच्नु पर्छ । प्राकृतिक विपत्तिमुक्त नेपालको नारा हामीले कसरी क्वाइन गर्ने ? त्यो क्वाइन गर्न जरुरी छ । सुरक्षित नेपाल भन्नाले यो फेरि प्रतिरक्षासँग जोडिएला । हामीले भन्न खोजेको सुरक्षाचाहिँ प्राकृतिक विपत्तिहरुबाट हो । यसलाई कसरी परिभाषित गर्ने भन्ने कुरामा विचार गरेर एउटा स्लोगन हामीले तयार गर्नुपर्छ ।

यसलाई हामीले सजिलोगरी सुरक्षित नेपाल भन्न हुन्थ्यो । तर, त्यसका चारवटा आयाम हुन्छन् । प्रतिरक्षा सम्बन्धी, सुरक्षा सम्बन्धी, सामाजिक सुरक्षा सम्बन्धी र प्राकृतिक विपत्तिबाट सुरक्षा सम्बन्धी । सुरक्षासम्बन्धी विभिन्न आयामहरु छन् । तर ‘यो प्राकृतिक विपत्तीबाट हो है’ भन्ने कुरामा जोड दिनुपर्छ । यो प्राकृतिक विपत्तिबाट सुरक्षासम्बन्धी कुरामा हामीले राष्ट्रिय नाराका साथ जानु वाञ्छनीय हुन्छ । विभिन्न क्षेत्रमा हामीले उपयुक्त नाराहरु दिएका छौँ । त्यसैगरी यसलाई पनि दिन सकिन्छ । यसो गर्दाखेरी पहिलो कुरा, हामीले मुख्य रुपमा ‘प्रिभेन्सन’, ‘प्रोटेक्सन’ तिर जानुपर्छ । नत्र भने यो ‘पुनर्दरिद्रः पुनःरेव पापी’ भनेको जस्तो यो सर्कल जहिले पनि आइरहन्छ । सधैँ आपत, सधैँ विपत् र सधैँ रेस्क्यु, सधैँ रिलिफ, सधैँ निर्माण । अहिले यही मात्रै भइराखेको छ ।

त्यसकारण जबसम्म हामी रेस्क्यु, रिलिफको आवश्यकता पर्ने अवस्थाबाट मुक्त हुन सक्दैनौं, तबसम्म त्यो जारी राख्नु प¥यो । रेस्क्यु र रिलिफ उपलब्ध गराउन नपर्ने खालको स्थिति हामीले बनाउनु प¥यो । जस्तो अहिले आगलागीको कुरा छ । आगो आफैं लाग्छ भन्नेमा त्यति विश्वास गर्न सकिँदैन । तर, यो परमसत्य हो । यो सृष्टिमा प्रकृतिले यस्तो बनाएको छ कि समय–समयमा त्यसले विनाश गरिराख्नु पर्छ । समय–समयमा त्यसले सिर्जना गरिराख्नु पर्छ ।

सिर्जना र विनाशको शृंखला रुखहरु बूढो भएर, झारपातहरु बूढो भएर मर्ने मात्रै कुरा होइन । प्रकृतिले कहिले कहिले आफँै लागो लाग्छ । जब सुकेका काठहरु रगडिन्छन्, त्यसबाट बहुत छिटै आगो निस्किन्छ । हामीले यस्सो छेस्का रगड्दा त आगो निस्किन्छ । पहिले–पहिले पण्डितजीहरुले यज्ञ गर्दा छेस्का रगडेर, दाउरा रगडेर आगो निकाल्ने गरेका थिए । छिटोछिटो रगड्दा तात्दै जाँदा कहिले–कहिले आगो निस्कन्छ । मोही पार्दा मदानी रगडिएर तातेको बेला धुवाँ निस्केको पनि हामीले देखेका छौँ ।

सुकेका ठूलाठूला मुढाहरुलाई हावाले रगड्छ । त्यहाँ साधारण मदानी घुमाएको जस्तो मात्र होइन, असाधारण घर्षण हुन्छ । बहुतै शक्तिका साथ घर्षण हुन्छ । त्यो यसरी तात्छ कि त्यहाँ आगो निस्किन्छ । त्यसकारण प्राकृतिक हिसाबले आगजनी हुँदैन भन्ने कुरा होइन । तर, अहिलेको सिजन चाहिँ प्राकृतिक हिसाबले आगजनी हुने खालको होइन । त्यस्तो असाध्यै तापक्रम बढिसकेको र यति धेरै ठाउँमा एकसाथ आगलागी हुनु चाहिँ प्राकृतिक नभएर मानिसकै कारण भएको हुनसक्छ । यसमा सावधान हुनुपर्ने देखिन्छ ।

वनसम्बन्धी हाम्रा सुरक्षाका निकायहरु छन् । त्यहाँ रेन्जर होलान्, फरेस्टर होलान् अरु सेक्युरिटी होला । जसले सुरक्षा गर्ने हो, उसले कसरी गरिरहेको छ, के भइराखेको छ भनेर खोजी हुनुपर्छ ।

आगोले तत्काल नटिप्ने वस्ति संरचना

कतिपय ठाउँमा बच्चाबच्ची यत्तिकै खेल्दाखेल्दै आगलागी हुन्छ । तिनीहरुलाई सम्झाउने–बुझाउने बाहेक कानूनी कारबाही केही हुने कुरा भएन । उनीहरुलाई घर र स्कूलहरुमा सचेत गराउन आवश्यक छ । मुख्य कुरा जनतालाई पनि सचेत गराउने काम गर्नु पर्दछ । सिजन आउन थालेपछि एकपटक सचेतना अभियान चलाइनु पर्दछ । आगलागीको सिजन आउन लाग्यो भने त्यसको ठीक अगाडि आगलागी सम्बन्धी सचेतना अभियान, बाढीको सिजन आउन लाग्यो भने बाढीसम्बन्धी सचेतना अभियान, आँधिहुरीको सिजन छ भने आँधीहुरी सम्बन्धी सचेतना अभियान चलाउनु जरुरी छ ।

विस्तारै हामी अब गाउँवस्तीमा फुसका घरहरु र खरका छानाहरुबाट पक्की घरहरु निर्माणतिर गइरहेका छौँ । यस्सो ढड्डा लगाएर फुसका छाना छाप्रा बनाइएका छन् । कहिले–कहिले तरकारी पकाउँदा तेलबाट आगो हुर्ररर लाग्छ र त्यसबाट छाप्रोमा सल्किएपछि सबै वस्ती सखाप हुन्छ । त्यस्तोमा हामीले फुसका छाना पूरै विस्थापित गर्ने अभियान चलाएका छौँ र यसलाई अझ तीव्र अभियानका रुपमा लिएर जानु पर्दछ । फुसका छाना, खरका छाना चाहिँ अब राख्दै नराख्ने हाम्रो नीति छ । खरका घर हुँदैहुँदैन । त्यसले वस्तीहरुमा आगो लाग्नबाट जोगाउन सकिन्छ ।

त्यसपछि हामीले ग्यासबाट हुने दुर्घटना अथवा बिजुली सट आदि जस्ता कुराहरुमा ध्यान दिनुपर्ने हुन्छ । यी कुराहरुलाई हामीले ध्यान दियौं भने घरवस्तीमा लाग्ने आगलागीलाई हटाउन सकिन्छ । फुसका छाना र त्यसबाटै हो धेरै नोक्सान हुने । घरभित्र पनि खानेकुरा केही नहुने । ओढ्ने, ओछ्याउने कपडा केही पनि नहुने, त्यस्ता घरहरु छन् । विनासित्ती एउटा छाप्रो जलेपछि फेरि अर्कोलाई पनि समस्या पैदा हुन्छ । त्यसकारण ती कुराहरुलाई हामीले पूरै विस्थापित गर्ने बाटो नै समाउनु पर्छ र कम्तिमा पनि टिनको छानो बनाउनु पर्छ । टिनको छानो बनाउनका लागि पनि भिन्न प्रविधि अपनाउनु पर्छ । त्यसकारण जनता आवास कार्यक्रममार्फत टिनका छानाले फुस वा खरका छाना विस्थापित गर्ने अभियान हामीले चलाएका छौँ ।

कहिले–कहिले प्राकृतिक हिसाबले पनि डढेलो लाग्छ । त्यो फेरि सुकेका बखतमा लाग्छ । कहिले–कहिले धेरै सुक्न नपाउँदा पनि लाग्छ । सुकेको ठाउँमा पानी परिरहेको छैन भने त हावा चल्दा घर्षणले आगो निस्किहाल्छ । त्यसले डढेलो लाग्न सक्छ । त्यसका लागि हामीले अलिकति विधिहरु अपनाउनु पर्ला कि । सम्भव भएका ठाउँहरुमा हामीले पोखरीहरु बनाउने, फायरलाइनहरुका पाइपहरु राख्ने र फाउन्टेनको तरिकाबाट पानी लगेर आगलागी हुनासाथ चलाइदिने स्थिति बनाइदियो भने त्यसले उडाएर जानेलाई त्यहीँ निभाइदिन्छ । कतिपय ठाउँमा त्यस्तो गर्दा पनि प्रोटेक्सन होला । कतिपय ठाउँमा पम्पिङ गर्दा माथि पानी जान्छ र त्यहाँबाट केही गर्न सकिन्छ भने त्यो गर्नुपर्ला ।

अरु हामीले केही विधिहरु पनि अबलम्वन गर्नुपर्ला कि ? जस्तै ठाउँठाउँमा कसमेकम हरेक पालिकामा एक पोखरी बनाउन सकिन्छ । मैले पहिलो कार्यकालमा यो नारा दिएको थिएँ । हरेक पालिकामा एक हेलिप्याड, एक पोखरी । तर, अझै पनि त्यो अगाडि बढिराखेको छैन । हेलिप्याड पनि हामीले अनिवार्य रुपमा बनाउनु प¥यो र पोखरी पनि बनाउनु प¥यो ।

हामीले हेलिकप्टरको कुरा गरेका छौं । प्लेनबाट अलिकति बढ्तै खर्च हुने र टाँढैबाट जानु पर्ने हुन्छ । हेलिकप्टरले त्यहीँको पानी पनि उभाउन सक्छ । माथि उडिउडिकन पनि तल पाइप झारेर त्यहाँबाट पानी पुल गर्न सक्छ, राख्न सक्छ । त्यो प्रविधिबाट पानी तान्ने प्रविधि हामीले लिन सक्छौं । त्यहाँ हेलिकप्टर राखेर पाइप राखेर पानी माथि तान्ने गर्न पनि सकिन्छ । त्यसकारण ‘हरेक ठाउँमा हेलिप्याड, हरेक ठाउँमा पोखरी’ भनेका हौँ । कसमेसकम पालिकामा एउटा पोखरी र एउटा हेलिप्याड आवश्यक छ । अनेक हिसाबले हामीलाई यो उपयुक्त हुन्छ । जमिनबाट आगो निभाउने प्रबन्ध, आकाशबाट आगो निभाउने, दुईवटै प्रबन्ध हामीले गर्न जरुरी छ । आगलागीका सम्बन्धमा यी हाम्रा कुरा भए । यसमा हामी तयारी गर्छौं ।

दशवर्षे योजना बनाऔँ

हामी एउटा दश वर्षे योजना बनाऔं । दश वर्षले पुग्दैन भने बाह्र वर्षे बनाऔं । तर, वि.सं २०८८÷२०९० सम्ममा हामी हाम्रा नदीहरु नियन्त्रण गरिसक्छौं । त्योमाथि अबको जमानामा अनियन्त्रित र सधैँ नोक्सान पारिरहने खालको हुनु हुँदैन । नदीहरुबाट बाँध निकाल्ने ठाउँमा बाँध निकालौंला, प्रोटेक्सन गर्ने ठाउँमा प्रोटेक्सन गरेर नदीहरुलाई नियन्त्रण गर्ने कुराको मास्टर्स प्लान (गुरुयोजना) बनाऔं, त्यो हुन सक्छ ।

हामी पाँचै वर्षमा नसकौंला, तर राख्दाखेरी कमसेकम दश वर्षको प्लान राखौं । दश वर्षभित्र हाम्रा नदीहरु नियन्त्रण गरिसक्ने, असुरक्षित वस्तीहरुलाई सुरक्षित ठाउँमा सार्ने, डुवान हुन नदिने, ठूल्ठूला पुलहरु बनाउने, जहाँबाट खोलमा पानी बग्न सकोस् । अत्यधिक पानी परेको बेला, अत्यधिक वर्षा भएको बेलामा बेजोड बहाव पनि नरोकियोस् र त्यो आफ्नो खोचमा चाहिँ बगिरहोस् । त्यसका लागि हामीले ठूल्ठूला कल्र्भटहरु, ठूल्ठूला पुलहरु निर्माण गर्ने र त्यसमा पानी रोकिने कुरा नहोस् भन्ने कुरालाई ध्यान दिनु पर्छ ।

वहावमा हुने व्यवधानले, बाटो बनाउँदाको कारणले, बाँध निर्माणका कारणले कुनै पनि कारणले नदीलाई मिच्दै लगेर, खोलालाई मिच्दै लगेर सानोसानो पारेको हुन्छ । अनि पानी अट्दैन र ओभरफ्लो हुन्छ । त्यो ओभरफ्लो हुन नसकोस् । उसको आवश्यक क्षेत्र छोडेर काम गर्ने गर्नुपर्छ । यसरी पुल, कल्भर्ट, बाँध, बाटो वा उसको बहावको क्षेत्र हामीले अतिक्रमण गर्नु हुँदैन । वास्तवमा उसको अधिकारको क्षेत्र हो, उ त बग्न बाध्य हुन्छ नि नअट्नेगरी । उसलाई रोक्न खाज्नेगरी व्यवधान खडा गरिएपछि त दायाँवायाँ वस्तीलाई असर पुग्छ । त्यसकारण त्यो स्थिति हुन नदिने कुरामा हामीले ध्यान दिनु पर्दछ ।

हामीले भारतसँग कुरा गरेर पूर्वी तराईमा खासगरी नेपालगञ्जको राप्तीभन्दा यता संयुक्त सर्भेक्षण पनि गरेका छौँ र कतिपय ठाउँमा पुलहरु, कल्भर्टहरु पनि बनाइएको छ । रिप्लेस पनि गरिएको छ, खोलिएको पनि छ । जसले गर्दा गत वर्ष त्यत्रो पानी पर्दा पनि डुवानको समस्या झेल्नु परेन । किनभने हामीले थुप्रै ठाउँमा त्यसप्रकारका प्रबन्ध गरेका थियौं ।

अर्को कुरा म भन्न चाहन्छु, अब भारतसँग गर्ने कुराकानीलाई पनि हामीले गम्भिरतापूर्वक ‘टु द पोइन्ट’ अगाडि बढाऔं । पहिले एकपटक ग¥यौं, त्यसपछि बाँकी रह्यो । त्यो बाँकी रहेपछि बाँकीको बाँकी रहेको होला सायद । तदारुकताका साथ हामीले त्यस्तो कुरालाई समाधान गर्नु पर्छ । हामीलाई समस्या परिराखेको छ, हामीलाई नोक्सान परिराखेको छ । सार्थक ढंगले कुरा गर्ने र बाँध बाँधेका कारणले हुने डुबान वा अरु पनि समस्या होस् । हाम्रो कारणले होस् वा भारतको कारणले । हाम्रो कारणले भएको भए हामी आफँैले सल्ट्याउनु प¥यो । भारतको कारणले हो भने हामीले भारतसँग कुरा गरेर सल्ट्याउनु प¥यो ।

हामीले कमसेकम १० वर्षभित्र सबै नदीहरुको उचित तटबन्ध निर्माण गर्नु पर्छ । अहिले यदि नारायणघाटबाट अलिकति परसम्मको दुम्कीवाससम्म अलि परसम्म तटबन्ध ग¥यौं भने त्यो फेरि चुरेतिर पस्छ र त्यहाँ फेरि समस्या हुन थाल्छ । यो क्षेत्रमा हामीले फेरि तटबन्ध ग¥यौं भने फेरि त्यहाँ हाम्रो स्टिमरलाई पनि सजिलो हुन्छ । बाढीले समस्या पनि नपार्ने, कटानको समस्या पनि नहोस्, । खाली त्रिवेणीतिर निस्किन पर्ने त्यसको बाध्यता भएको हुनाले त्यो त बाध्यता छ नारायणी नदीको । त्रिवेणीबाट उतै निस्किन पर्नेछ । त्यो बाध्यताले गर्दा उ यता घुमेर, उता घुमेर फेरि सिँगुटीन बाध्य छ । यस्ता अरु थुप्रै नदीहरु छन् । कन्काइ नदी भयो, कमला भयो, कोशी भयो, कर्णाली नदी भयो । धार बदलेर त्यत्रो बनाइसकेको छ, त्यसले अत्यन्तै ठूलो क्षेत्र लिएको छ ।

नदीको धार परिवर्तन अथवा अघि मैले उल्लेख गरेजस्तै सानो मात्र ठाउँ पायो भने ओभरफ्लो हुन बाध्य हुन्छ । बाढीका बेला पानी असाध्यै धेरै आउँछ । त्यस्तोमा नदीले बाटो बदल्ने हो । त्यस्तो गर्दा गाउँ, सहर, खेत डुबाइदिन सक्छ । त्यसकारण अप्रत्याशित केही घन्टाभित्र हुने वर्षा र बाढीको कारणले र धार परिवर्तनले जनताको ठूलो क्षति हुन सक्छ । त्यसकारण नदी नियत्रन्ण तुरुन्तै गर्नुपर्ने आवश्यकता छ । सँगसँगै हामीले जलाधार क्षेत्रको संरक्षण र त्यसको यथोचित ढंगको विकास गर्नु पर्ने छ । जलाधार क्षेत्रलाई पनि हामीले ध्यान दिएनौं भने गाह्रो हुन्छ ।

मलाई नै गाह्रो भयो

आगलागी भयो, वातावरण विग्रियो, आँखा पिरो भयो, पोल्यो, छाती दुख्यो भन्ने मात्र कुरा होइन । मेरो नै छाती दुखेर झण्डैझण्डै हिँड्नै नसक्ने खालको स्थिति बन्यो । स्वासै फेर्न अप्ठ्यारो हुने खालको । अहिले मौसम सफा भएर स्वास फेर्न पनि अलिक सजिलो भएको छ । नत्र हिजो (२५ गते) मलाई नै अप्ठ्यारो परिसकेको थियो ।

यो अप्ठ्यारो यहाँ केही दिनका लागि मात्रै होइन । यो आगलागीबाट आएको धुँवासँग खरानी पनि हुन्छ । खरानीमा एउटा अम्लिय तत्व हुन्छ । दोस्रो त्यसमा चुना हुन्छ । तेस्रो त्यसमा अमिलोपन र चुना हुन्छ । युरोपमा हामी देख्छौं हिमालमा हिउँ पगाल्नका लागि छर्कर्ने नुन । नुन छर्किएपछि हिमाल पग्लिन्छ, हिउँ पग्लिन्छ भनेर । हाम्रोमा त क्रमशः यो हावा खरानीको धुलो विस्तारै–विस्तारै त्यहाँ जानेछ र माटोमा परिणत हुन्छ । पानी माटोमा प¥यो भने माटो मलिन हुन्छ । हावामा परेर हिमालमा गयो भने हिमालका लागि, हिउँका लागि मलिन हुन्छ । त्यसले हिउँलाई त कटाइहाल्छ ।

हिउँ हिमालमा अड्नै सक्दैन । हिउँ अड्नै सकेन भने रिचार्ज सिस्टम खत्तम हुन्छ । क्रमशः हिउँ पग्लिंदै गएर त्यो चट्टान फुट्दै जाने हो । पहाड रसिलो हुने, चट्टान रसिलो हुने आद्रपनलाई नै समाप्त पार्छ र त्यसपछि मुलहरु सुक्दै जान्छन् । हिउँ नभएपछि हिमालको तापक्रम घट्छ । हिउँ नभएपछि हिमालको तापक्रम घट्ने हो । अब तापक्रम घटेपछि नेचुरल लार्जेस्ट कुलिङ सेन्टर जुन हो, त्यसको प्रभावकारीता कम भएपछि तापक्रम बढ्ने हो । ग्लोबल वार्मिङ सिस्टमलाई त्यसले समस्या ल्याउँछ । किनभने कुलिङ सेन्टर नै हाम्रो निस्क्रिय हुन्छ । हाम्रा पहाडहरु सबैभन्दा ठूला कुलिङ सेन्टर हुन् । ती कुलिङ सेन्टरमा नकारात्मक असर परिसकेपछि यसले प्रतिकूल असर पार्छ र हावालाई आवश्यक मात्रामा चिसो बनाउन सक्दैन । हिउँ नहुँदा अल्टिट्युटमा त्यति चिसो भइसकेको हुँदैन । यसले मरुभूमीकरण गराउँछ । रिजार्च सिस्टमलाई यसले धक्का पु¥याउँछ । त्यसकारण ग्लोबल्ली यो बहुतै सिरियस कुरा हो । एकपटक त्यस्तो भएपछि त्यसले चेनइफेक्ट गर्छ । अरु थुप्रै कुराहरुमा असर गर्छ ।

हामीले ६२ प्रतिशत हाम्रो भूभाग वातावरणका लागि छुट्याएका छौं । इकोसिस्टमका लागि छुट्याएका छौं । १७ प्रतिशत हिमाल, ४५ प्रतिशत वन । तर, त्यही वनमा आगलागी भएर त्यहीँबाट चुना, एसिड, साल्ट उडेर जाने र हिमालमा ठोक्किने, अनि त्यसबाट हिमालको हिउँ सबै पगाल्दिने अवस्था छ ।

ठूला पात र लामा जरा भएका वनस्पति

हाम्रोमै हिमाल छ, हाम्रोमै आगलागी हुन्छ । यहीँबाट एसिडिक धुवाँले, हावाले त्यो एसिडिक खरानी लिएर जान्छ । त्यो खरानी हिमालमा गएर बहुतै खतरनाक हुन्छ । त्यसैले वातावरणीय प्रश्न यसमा जोडिएको छ र एकछिनको समस्याभन्दा यो धेरै गम्भीर समस्या हो । दीर्घकालीन समस्या हो ।

हामीले जलाधार क्षेत्रको सुरक्षामा ध्यान दिन जरुरी छ । वनलाई मासिन नदिने, हुर्कन दिने । भूगोल अनुसार, वातावरणअनुसार, यदि त्यसलाई संरक्षण गर्ने हो भने वन हुर्किन्छ । वनलाई हुर्किन दियो भने वन हुर्किन्छ । अर्कोचाहिँ त्यहाँको क्लाइमेट कस्तो छ, त्यस अनुसारका फलपूmलका विरुवाहरु रोप्ने । रोप्दाखेरी हामीले बढी हाँगा हुने, ठूलाठूला हरिया पात हुने, लामा जरा हुने, पतझर कम हुने विरुवाहरुको छनौट गर्नुपर्छ । जरा लामा हुनु प¥यो, धेरै लामा हाँगा हुनुप¥यो, झ्याम्म परेका रुख हुनुप¥यो, राम्राराम्रा हरिया पात हुनुपर्यो, कम पतझर हुनुप¥यो । यसको महत्वका बारेमा मैले भनिरहनु पर्छ जस्तो लाग्दैन । वातावरणका अनेक संस्थाहरु छन् । ती संस्थाहरुले गर्लान् ।

तर वातावरणका संस्थाहरु पनि कस्ता छन् भने फण्डिङ एजेन्सीका कार्यपत्र पढेर उठ्ने खालका छन् । तिनीहरु गहिरोसँग लागेको मैले धेरै पाएको छैन । एकदम सतही खालको धेरै देख्छु । वातावरण मेरो ज्ञानको विषय होइन । म जस्तोले नै गहिराइ नभएको देख्छु भनेपछि वातावरणको क्षेत्रमा हुने गोष्ठी–सेमिनारहरु त्यो गहिराइका साथ भइरहेका छैनन् । त्यसअनुसार नेपालले अन्तर्राष्ट्रिय फोरमहरुमा धेरै प्रश्न गर्न सकिरहेको छैन । जुन ध्यानकर्षण हामीले गर्नुपर्ने छ ।

दुई सय माइल बेगको हावा थेग्ने घर

अब हामीले तत्कालका लागि घरहरु कसरी बनाउने ? जस्तो नरैनापुरमा १ सय २० घर जले । पाँच लाखका दररेटमा बनाउँदाखेरी पनि लगभग ६ करोड नै होला । तर, प्रश्न ६ करोडको मात्रै होइन । त्यसले कति खरवौंको क्षति ग¥यो वा अपुरणीय क्षति ग¥यो । त्यो कुरा चाहिँ मुख्य हो ।

घरहरु बनाउँदा हामीले कसमेकम प्रतिघन्टा २ सय माइल वेगमा आउने वहने हावाहुरीसँग बच्न सक्ने खालको भवनहरु, संरचनाहरु बनाउनु पर्छ । ५०÷६० किलोमिटरका दरले हावा चल्न पाएको छैन, छानो उडिसकेको हुन्छ, झ्याल उडाइसकेको हुन्छ । त्यस्तो खालको होइन कि २ सय माइल प्रतिघन्टा हुँदाखेरी पनि केही नहुनेखालका त कमसेकम बनाउनु प¥यो । हाम्रोमा अहिलेसम्म अधिकतम २ सय माइल प्रतिघन्टाको वेगमा हावा बहेको छैन । कमसेकम ६५ वर्षदेखि त म अलिअलि जान्छु । गत ६५ वर्षदेखि मैले त्यस्तो देखेको छैन ।

ट्रोनाडो चाहिँ एउटा विशेष प्रकारको विशेष अवस्थामा आउने कुरा भयो । त्यस बाहेकका भन्ने हो भने नेपालका हावाहुरी ८० देखि १२० माइल प्रतिघन्टा भन्दा माथि गएको छैन । तर, १२० मा जाँदा १२० ले नै हामीलाई समाप्त पारिदिएको हुन्छ, उडाइदिएको हुन्छ । किनभने हाम्रोमा फुसका छानाहरु यसो अड्याइएका छानाहरु छन्, ती सबै उडाइदिन्छ । तसर्थ हामीले संरचनाहरु बनाउँदाखेरी पनि हावाहुरीले केही गर्न नसक्ने खालका बनाउन जरुरी छ । साधारण ओत लाग्ने मात्रै होइन । भुइँचालोको समस्या हुन सक्छ, आगलागीको समस्या हुन सक्छ, अथवा हावाहुरीको समस्या हुन सक्छ । हावाहुरी, आगलागी, भँुइचालो यी तीनवटै प्रकारका समस्याहरु हुन्, यसबाट जोगिने खालका बनाउनु प¥यो ।

कहिले–कहिले अप्रत्याशित अतिवृष्टि र अप्रत्याशित बाढी आउन सक्छ । यो प्रकृतिको अलिक भन्न सकिँदैन । त्यस्तो भएर यदि खोलाभन्दा सय वर्षका रेकर्ड तोड्दिन सक्छ, हजारौ वर्षका रेकर्ड तोड्दिन सक्छ । त्यसकारण त्यस्तो अवस्थामा आयो भने पनि त्यो साटसुट बगाएर लान नसकोस् भन्ने कुरालाई पनि ध्यानमा राख्ने र त्यो कुराको सम्भावनालाई ध्यानमा राखेर रिभर टे«डिङका कुराहरुदेखि लिएर हाम्रा संरचनाहरु बनाउनु जरुरी छ ।

अब पहिरो नियन्त्रण गर्नका लागि हामीले त्यसको सम्भावित ठाउँहरु अथवा त्यसका सम्बन्धित सरोकारवाला ठाउँहरुमा वृक्षारोपण गर्नु पर्छ । कहीँ एउटा पर्खाल लगाइदियो भने पहिरो जाँदैन, रोकिन्छ । पर्खाल लगाएर पहिरो रोक्ने र त्यसपछि पानी सोस्ने खालका जरा लामालामा भएका वृक्षहरु रोप्नुपर्छ । वृक्षहरु दुई प्रकारका हुन सक्छन् । पानी त्यहीँ सोस्ने र पानी तर्काउने । सल्लाघारीमा परेको पानी त्यो सल्लाघारीको अलिक पर फेदमा गएर हेर्ने हो भने सम्पूर्ण तल आइपुगेको हुन्छ । त्यो भित्र जमिनमा छिरेको हुँदैन । त्यसकारण त्यो जमिन सधै रुखो हुन्छ ।

सल्लो लगाउँदा कालो माटो थियो भने त्यसलाई सुख्खा बनाएर पकाएर रातो माटो बनाइदिन्छ । त्यस्तो नहुन पर्ने ठाउँहरुमा पनि सल्लोले त्यस्तो गरिदिएको हुन्छ । अरु कारणले पनि त्यस्तो भएको हुन्छ । कतिपय वृक्षहरुले त्यस्तो गर्दिएको हुन्छ । कतिपय ठाउँमा आमरुपमा पानी जमिनले त्यहीँ सोस्ने, पहिरो नजाने खालका ठाउँमा जमिनले त्यहीँ सोस्ने प्रबन्ध गर्नुपर्छ । पहिरो जाने खालका ठाउँहरुमा पानी सलल बगेर जाओस् भित्र नपसोस् भन्ने कुरालाई ध्यानमा राख्नु पर्छ ।

हामी विभिन्न ठाउँमा देख्छौं, विदेशतिर पनि देख्छौं । त्यसलाई अलिकति ड्रिलिङ गर्दै त्यहाँ सिमेन्ट जस्तो तत्व हाल्ने । त्यो जमिनलाई नै एकदम प्लास्टर गरेको जस्तै मजबुत बनाइदिन्छ त्यसले । त्यसप्रकारको प्रविधि पनि अपनाउनु पर्ने हुनसक्छ । त्यो धेरै समय लाग्दैन, थोरै समयमा त्यो मेटरियल लिएर जान्छ र ड्रिलिङ गरेर हालिदिएपछि त्यहाँको माटोलाई प्लास्टर गर्दिन्छ । त्यसो भएपछि त्यो बलियो हुन्छ । त्यसप्रकारका विधिहरु पनि हामीले अपनाउनु पर्छ ।

हामीले भूकम्पबाट जोगिनका लागि यसपटक केही प्रबन्ध ग¥यौं । भूकम्पबाट जोगिने प्रबन्धभन्दा पनि भूकम्पले क्षति नहुने घरहरु निर्माण गर्‍यौं । केहीलाई सुरक्षित वस्तीमा सार्‍यौं । अझै पनि भूकम्प आउँदाखेरी त्यसबाट जोगिने खालका घरहरु हाम्रा छैनन् । त्यसो भएर हामीले अलिक बलिया घरहरु बनाउने, भूकम्प सुरक्षित घरहरु बनाउने जस्ता कुराहरुमा आगामी दिनमा ध्यान दिनुपर्छ र जुनसुकै प्रकारका प्राकृतिक विपत्ति आए पनि त्यसले हामीलाई ठूलो क्षति गर्न नसकोस् भन्ने कुरामा हाम्रो दीर्घकालीन तयारी आवश्यक छ ।

हेलिकप्टरबाट पानी खन्याउने व्यवस्था

यी भए दीर्घकालीन तयारीका केही पक्षहरु । अब हामी तात्कालीन रुपमा गर्ने पनि केही काम गर्दै छौँ । हेलिकप्टर पनि ल्याउँदै छौं । ल्याउन जरुरी छ । खासगरी अघिपछि अरु प्रयोजनका लागि प्रयोग गर्न सकिने र आगलागीका बेला माथिबाट पानी छ्याप्न सकिने, फाल्न सकिने हेलिकप्टर । त्यसप्रकारका हेलिकप्टरहरु उपयोगी हुन्छन् ।

प्लेनचाहिँ बढी के हुन्छ भने एक ठाउँबाट लग्यो, फेरि त्यसलाई त टर्निङ लिन पूरा समय लाग्छ, धेरै ठाउँ लिनुपर्ने हुन्छ । उसले अडिएर, रोकिएर पनि कहिलेकहिले पानी खन्याउनु पर्ने हुन्छ । एक ठाउँमा अथवा सानो ठाउँमा खन्याउनु पर्ने होला । त्यहीँ बढी होला । प्लेनले त त्यस्तो गर्न सक्दैन । अलिकति स्लो मात्रै गर्न सक्ने हो । त्यसपछि त्यो त अगाडि बढिसक्छ । प्लेन फेरि फर्किएर आउँदा त्यो साह्रै महंगो प्रविधि हुन्छ । त्यसकारण सकेसम्म बरु हेलिकप्टरको संख्या बढाउने । हेलिकप्टरबाट गर्दा बढी सेफ हुन सक्छ र बढी काम हुन सक्छ । त्यो नजिकैको क्षेत्रमा त्यहीँ घुम्न, त्यहीँ आवश्यक तलसम्म ल्याउन, अप्ठ्यारा ठाउँमा पनि आवश्यक तलसम्म जान सक्छ । त्यसकारण हेलिकप्टर नै बढी उपयोगी होला भन्ने लाग्छ । त्यो प्राविधिकहरुले जान्ने कुरा हो ।

अब अहिलेको हकमा चाहिँ हामीले पुनःनिर्माणका कामलाई तत्कालै अगाडि बढाउनु पर्नेछ । नरैनापुर होस् कि अरु होस् कि त्यहाँ करिव तीन हजार घरधुरी क्षति भएको छ । लगभग तीन हजार घरहरु बनाउनु पर्नेछ । गृह मन्त्रालय अन्तर्गत यसमा दुईवटा कुरा गरेका छौं हामीले । यसको रेस्क्यु, रिलिफ अपरेशन गृह मन्त्रालय अन्तर्गतबाट गरेका छौं । पोलिसी मेकिङ र अरु कतिपय समग्र परिचालन गृहबाट गरेका छैनौं । सेनाको परिचालनको कुरा हुन्छ । वन, रक्षा मन्त्रालय, गृह मन्त्रालय, वातावरण मन्त्रालय, ऊर्जा मन्त्रालय, यी सबै मन्त्रालय पर्ने हुन्छ समग्रतामा । जस्तो यो राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबारे दुविधा छ । यसमा अलिकति सोच्नु पर्नेछ । किनभने यो नेपाल सरकार गृह मन्त्रालय राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण हो । यो राष्ट्रिय परिषद्चाहिँ प्राधिकरण मातहत होइन ।

म के स्पष्ट गरौं भने राष्ट्रिय परिषद्चाहिँ सबैभन्दा माथिल्लो वडी हो । यसले पोलिसी डिसिजन लगायत समग्र मोविलाइज गर्न सक्छ । योचाहिँ सबैभन्दा माथिको हो । यसभन्दा मुनि अर्को समिति छ गृहमन्त्रीज्यूको नेतृत्वमा । त्यसले रेस्क्यु, रिलिफ आदि अपरेसनहरु सञ्चालन गर्छ । प्राधिकरण चाहिँँ त्यसका निम्ति सपोर्टिभ कुरा हो । समितिको निम्ति सपोर्टिभ कुरा हो । अनि यो प्राधिकरणले के गर्छ भन्दा गृहमन्त्रीज्यू अन्तर्गतको सम्बन्धित जुन समिति छ, त्यसका निर्णयहरु र परिषद्का निर्णयहरुको कार्यान्वयन गर्ने एजेन्सीचाहिँ प्राधिकरण हो ।

प्राधिकरण स्वायत्त हुनुपर्छ र पावरफुल हुनुपर्छ । यो फास्ट ट्र्याकबाट जानुपर्छ । हाम्रोचाहिँ गृह मन्त्रालय अन्तर्गतको एउटा कमजोर विङ जस्तो भयो । हुन त अब आफैंले मात्र चलाउँछु भनेर हुँदैन । सीडीओहरु परिचालन नगरी त हुँदै हुँदैन । त्यहाँ जिल्ला प्रहरी परिचालन नगरी हुँदै हुँदैन । स्थानीय प्रहरी परिचालन नगरी हुँदैहुँदैन । अनि एकदम रेस्क्यू अपरेसनमा सेना आफैं तत्काल एक्टिभ भइहाल्छ । उसले रेस्क्यु अप्रेशनमा त तत्काल जहाँ सुन्यो कि त्यहीँ मुभ भइहाल्छ । परिचालन गर्नु पर्‍यो भनेचाहिँ त्यो आफ्नो विधिबाट हुन्छ ।

अहिले, अझै पनि आगलागीको समय छ । यसबाट हामीले कसरी जोगाउने भन्ने कुरा हो । विस्तारै अब बाढी पहिरोको सिजन आउँदै छ । त्यसबाट कसरी जोगाउने भन्ने कुरा आउँछ । फेरि अर्को सिजनको पहिरो थपिइसक्छ । अर्को सिजनको समस्या थपिइसक्छ, अहिलेको समस्याकै समाधान गरिसकेको छैन । समस्याका चाङमाथि चाङ थपिँदै गएर समस्या अत्यन्तै जटिल बन्छ । त्यसकारण समस्याको चाङमाथि नै चाङ थपिँदै जाने होइन कि हामीले त अर्को समस्या आउनु अगाडि पहिलेका समस्याहरु समाधान गरिसक्नु पर्छ । तब मात्र हामीले समाधान गरेर जान सक्छौं । नत्र त हामी तमासे मात्रै हुन्छौं । खाली दर्शक हुन्छौं ।

हामीले भूकम्पबाट भएको क्षतिको पुनःनिर्माण प्राधिकरण बनायौं । त्यसै गरेर एउटा प्राधिकरण बनाउनु पर्छ कि ? त्यसलाई नै निर्माणका कामहरु समेत गर्न दिने अथवा त्यही प्राधिकरणलाई अर्काे फर्ममा निरन्तरता गर्दिनु पर्छ कि ? यसबारे अध्ययन गरेर निक्र्यौलमा पुग्न मैले जिम्मेवारी तोकेको छु ।

अर्को कुरा प्राकृतिक विपत्तिका नाममा कतै मानवीय कमीकमजोरी छ भने त्यसलाई हामीले शिक्षादिक्षाबाट, सचेतनाबाट सच्याउन सक्छौं । यदि मानवीय अपराध कतै मिसिएको छ भने त्यसमा सजाय हुन्छ । त्यो सजायको विषय हो र बनाउनु पर्छ । अहिलेसम्म कुनै कारबाही हुने गरेको छैन । त्यसकारण अब कारबाहीको विषय पनि बनाउनु पर्छ ।

(प्रधानमन्त्री ओलीले हालै बालुवाटारमा आयोजित एक कार्यक्रममा गरेको सम्बोधनमा आधारित)

प्रतिक्रिया दिनुहोस