शुक्रबार, १० बैसाख २०७८

माधव नेपाल: हान्ने राँगाको जस्तो बिगत, हरुवा गोरुको जस्तो वर्तमान



माधव नेपालको हान्ने राँगाको जस्तो बिगत र हरुवा गोरुको जस्तो वर्तमानले मान्छे बलवान कहिलै हुँदैन, समय बलवान हुन्छ भन्ने सत्यलाई पुष्टि गरेको छ । बहुदलीय जनवादी कार्ड प्रयोग गरेर सीपी र झलनाथलाई पाखा लगाएर मदन भण्डारीको देहान्तपछि महासचिवको लाटरी पाउने माधव, माले समूहको आडमा रक्षा र परराष्ट्र मन्त्रालयसहित उपप्रधानमन्त्री भएर बिना मन्त्रालयका प्रधानमन्त्री बनाई मनमोहन अधिकारीको तेजोवध गर्न पछि नहट्ने माधव, ओली ताछ्न विधानमा नभएको उपमहासचिव पदमा थपना गरेर वामदेव गौतमको सुसुप्त महत्वाकांक्षाको भूत जगाइदिएर बहुदलीय जनवादीहरुबीच फाटोको बिऊ रोप्ने माधव, उपमहासचिवबाट गौतमलाई उठिबास लगाएर भर्खर मात्र महासचिव गुमाएको र कुण्ठा पालेर प्रतिशोधको दाऊ हेरिरहेका दुई जना भूपूमहासचिवको संकटबाट घेरिएको एमालेलाई साह्रैमाथि बज्र थोपर्ने माधव।

                                     लेखक

मनमोहन र केपीको आडमा महासचिव हटाऊ अभियान र छैठौं महाधिवेशनमा बामदेव, सिपी र झलनाथको एकीकृत हमलाबाट बालबाल बचे पनि मनमोहनको निधनपछि भैँसीको मासु सिँगको अचानो गरी झलनाथको आडमा केपीलाई नोट अफ डिसेन्ट लेख्नमा सीमित पार्न नहच्किने माधव, वामदेव वटालियन भित्र्याएर ओलीधारका प्वाँख–पखेटामा कैँची लगाउन पछि नपर्ने माधव, चौरलाई चौतारो साधुलाई शुली गर्दै बहुदलीय जनवादीमाथि शुन्य सहनशीलतामा रहेर डोजर लगाउने र आयाराम गयारामहरुलाई दण्डहिनता, पुल्पुल्याइँ र सरप्राइजको उपहार चिट्ठा दिएर क्रेन लगाउने माधव, उत्कर्षकालका माधव नेपाललाई इतिहासले यसरी सम्झिने छ ।

बाघको छालामा स्यालको रजाइँको एक सही उदाहरण थियो, मदन र मनमोहनबाट प्रेरित एमालेको लय र विरासतको जमिनमा माधवले गरेको रजगज । विद्युत आपुर्ति बन्द भए पनि केही क्षण पंखा घुमिरहेजस्तै २०५१ सालमा मदनकालीन एमालेको धङ्धङीको बोनसका रुपमा अल्पमतको एकमना सरकार र २०५४ सालको स्थानीय चुनावमा पाएको सफलता बाहेक माधवकालीन एमालेले कहिलै सजिलो, सहकाल र सफलता पाउन सकेन ।

दरबार, दिल्ली, नेपाली कांग्रेस र उग्रवामपपन्थीहरु एमाले भने पछि निधार खुम्चाउने गर्थे र बिलौना गरेर बस्थे मदनको पालामा तर, माधव राजमा एमालेलाई दरबार, दिल्ली, कांग्रेस र माओवादीले पालैपालो खेलौना बनाए । मदन र केपीको नेतृत्वकालमा एमालेले जोरीपारीका ओठतालु सुकाउन सक्यो तर चौध वर्ष लामो माधव नेपालको नेतृत्व घरमा बाघ र वनमा काग बन्न पुग्यो । एमाले पार्टी भाले न पोथीको जुन बदनामी एमालेले भोग्यो, पानी रंङे माधव नेपाललाई बोक्नुको यथोचित सजाय थियो ।

कांग्रेसको रखैल हुन्छ वा माओवादीको चखैल हुन्छ भन्ने सन्देहको बाक्लै घेरामा रहेको एमालेलाई स्वाभिमानको मेरुदण्ड दिएकोमा केपी ओलीप्रति पार्टीपंत्ति कृतार्थ छ । आफ्नै भाग खोसेर खाइदिए जसरी माधव नेपालले ओलीप्रति पालेको कुण्ठा, जलन र प्रतिशोध पाण्डवहरुको ईलममा जल्ने धृतराष्ट्रको जस्तै रहेको छ । भारत र गिरिजाप्रसाद कोइरालाको काखमा बसेर पुष्पकमल दाहाल प्रचण्डले माधवकालीन एमालेको आँगनमा २०६४ सालमा औंसीको अवतरण गराए पनि माधवमा ईख छैन ।

ओली र प्रचण्ड मिलाएर गुमेको प्रतिष्ठाको मर्मतसम्भार गर्ने सुन्दर अवसर उपलब्ध थियो । एकातिर प्रचण्डकाप्रति हरेक एमालेमा हुनैपर्ने एमालेईख नहुनु र अर्कोतर्फ सहकर्मी मिलाउने न्युनतम इमान पनि नहुनुको एकमुष्ट झटारो बेहोर्दै माधव नेपालले एमालेका कार्यकर्ताको दिलबाट चिप्लिएर भिरको डिलमा पुग्नु परेको छ । उपकार गर्नेप्रतिको कृतघ्नता र कृतघ्नप्रतिको निर्भरताको योग ओरालो यात्रा र पतन हात्लागी हुनु अनिवार्य थियो ।

मूलतः ओलीप्रतिको जलन र प्रचण्डको शरण माधवलाई भारी परेको छ । त्याग होइन ब्याग, निष्ठा होइन कुण्ठा, खुस होइन तुष, कुर्बानी होइन आम्दानी, धैर्य होइन हाताहाती, शालीनता होइन छटपटी, इमान जमान होइन कलापूर्ण र भद्दा दुबै खाले जालसाँझीले व्यक्तित्व र नेतृत्वलाई सिंह जस्तो सबल रहन दिदैन रहलपहलमा बाँच्ने निर्वल स्याल जस्तो बनाउने गर्दछ । बिग्रियो मंगले आफ्नै ढंगले भनेझै माधव नेपाललाई क्षयीकरण गराउने आफैले गरेका महापाप र अपराधहरु हुन् ।

एमालेको शक्ति ऐठन

दर्पन छाया हेरी हेरी गयो जोबन भनेझै माधव नेपालको महासचिवको १४ वर्ष लामो कार्यकाल र त्यसपछिको पदहीनताको १४ वर्षको अवधि एमालेको शक्ति ऐठन पार्नमै बर्बाद भयो । यो शक्ति ऐठनको सच्चाईँ र यसको स्वरुपको पिँधसम्म पुग्नलाई सर्वप्रथम त के थियो एमालेको लय र लक्ष र कस्तो थियो मदन भण्डारीको जनताको राजनीतिलाई सवल, श्रेष्ठ र सर्वोपरी पार्ने मति, गगति र सरस्वती रु यो सत्यमाथि प्रकाश पार्नु बान्छनीय हुन्छ ।

सहकर्मीको टहल गर्नु र जनताको पक्षमा निरन्तर राजनीतिक पहल गर्नुको मर्यादाको घेरामा रहेर मदन भण्डारीले एमाले रथ हाँकेको सत्य इतिहासको ऐना हेर्दा छर्लंग हुन्छ । मनमोहन अधिकारीलाई एक नम्बरको नेताका रुपमा पार्टी अध्यक्ष र संसदीय दलको नेता, सीपी मैनालीलाई संसदीय दलको उपनेता, माधव नेपाललाई राष्ट्रिय सभामा विपक्षी दलको नेता, झलनाथ खनाललाई अन्तरिम सरकारमा मन्त्री, आरके मैनालीलाई राजासँगको वार्तामा पार्टी प्रतिनिधि बनाउनुले मदनमा मैलाऊँ मै खाऊँवाद नरहेको प्रष्ट हुन्छ ।

आज राष्ट्रपतिको कार्यभार समाल्न सक्ने जीवन सखिनी विद्या भण्डारीलाई त्यतिबेला मदन भण्डारीले सांसद र मन्त्री बनाए पनि रोक्न सक्ने ताकत कसैको थिएन । तर मदनमा स्वास्नी सिँगार्ने देश बिगार्ने खराब राजनीतिक रसायन थिएन । जसकी आमा घरिना उसैका पोक्चे गाला, आफ्ना आफ्ना नर नजिक नजिक सरको बेथितिबाट मदनकालीन एमाले टाढा थियो ।

असहजकालमा पार्टी आफुले चलाएको तर आज भाग खोसिएको जस्ता आग्रह पालेर पूर्व महासचिवहरु सीपी मैनाली र झलनाथ खनालले पुनरुत्थानको दाऊ हेर्न नछोडे पनि भण्डारीको नियत खराव नभएकाले कुनै जोर चलेको थिएन । शक्तिको दुरुपयोग गरेर निकटस्थलाई नपोस्नु र अराजकतालाई शिर उठाउन नदिनुको सन्तुलनमा रहेर मदनकालीन एमालेरथ अघि बढेको थियो ।

माधवको आगमनपछि विचारमा गोलमाल, व्यवहार भद्रगोल, अवसरको वितरण र नेतृत्व निर्माणमा गन्जागोल जस्ता संकटहरु हुल बाधेर आए र एमाले शक्ति ऐठनको शिकार भयो । नहुशले वृहस्पतीआदि राजगुरुलाई डोले बनाएजस्तै माधव नेपालको पालामा सहकर्मीहरुको अपमान सामान्यजस्तै भयो । मनमोहन अधिकारी र मदन भण्डारीको निधन, वामदेव गौतम, सीपी मैनाली, साहना प्रधानको बहिर्गमनले परेको नेतृत्वको अभावले नपुगेर मनमोहनको शेषपछि केपीमाथि निर्मम दमन माधव मिसन बन्न पुग्यो । ‘मदन भण्डारी नरहेपछि पनि एमालेले एकमना सरकार चलायो’, ‘टंक कार्की बनाइदिन्छु’, पार्टी छोड्दा हुन्छ’ र ‘न बिराउनु न डराउनु’, नमात्तिनु नआत्तिनु यस्तै दम्भी अभिव्यक्ति र तुष्टिकरणको पिङ खेल्नमै १४ वर्ष बितेकाले माधव नेपालको पालाको अन्तिम दिनमा एमालेको आँगनमा औंसीको अवतरण भएको थियो ।

मदन भण्डारीको अनपेक्षित अवशानपछि भूपूमहासचिव हुनुको नाताले महासचिवको अप्रकट हकदाबी सीपी मैनाली र झलनाथ खनालमा थियो । जनताको बहुदलीय जनवादमय एमालेमा जबजको पक्षधर नभई महासचिव हुन संभव थिएन । बहुदलीय जनवादी कार्ड प्रयोग गरेर महासचिव भए पनि वहुदलीय जनवादीको एकता माधव नेपालको प्राथमिकतामा परेन । सबैलाई समेट्ने नाममा मदनको पालामा पार्टीबाट बिभिण्डिएका रघुजी पन्त, घनश्याम भुसालहरु नै माधव प्रशासनको रोजाईमा परे ।

दासढुंगा काण्डको एक महिना नपुग्दै राष्ट्रिय सभाको चुनावमा पार्टी ह्वीप उलंघन गरी सीपी–जेएन प्रेरित डेढ दर्जन सांसदहरुले पार्टीका उम्मेद्वार केशवलाल श्रेष्ठलाई हराएर बागी उम्मेद्वार जगतबहादुर बोगटीलाई जिताइदिए । कार्यवाही गर्नुपर्नेमा माधव नेपालको रबैया संगठित अराजकतासामु रक्षात्मक रह्यो । सुरुवात नै झुरु प्रदर्शनबाट भएको माधवकालमा बहुदलीय जनवादीहरु बीचमै दरार र अथाह तुष पैदा भयो ।

ओली र गौतमलाई दायाँबायाँ हात र पूर्वी नेपाल र पश्चिम नेपाल हेर्ने आँखा बनाएर मदन भण्डारीले सीपी जेएनको प्रकट र छद्म अवरोधलाई दबाबमा पारेको गहिराइँसम्म पुग्ने फुर्सद घरज्वाइँ धनाढ्यजस्तै एकाएक शक्तिको घानमा पुगेकाले मख्ख माधवसँग थिएन । २०५१ सालमा एमालेको अल्पमतको सरकार बनेपछि केपी ओलीलाई रोक्न वामदेव गौतमसँग साँठगाँठ गरेर बिधानमा नभएको महासचिव पद सृजना गरेपछि नेपाल, ओली र गौतमको त्रिपक्षीय टकराब सुरु भयो । यसरी बहुदलीय जनवादीहरुको बीचमै भगालाहरु सृजना गर्नु माधव नेपालको अक्षम्य कृत्य थियो ।

मनमोहन अधिकारीलाई सरकार संचालनको जिम्मेवारी र आफु पार्टीको जिम्मेवारीको सन्तुलनमा रहेर त्यसपछिको चुनावमा कांग्रेसलाई रिङ आउट गर्ने ठूलो लक्ष लिनुको सट्टा जोगी हुन राजनीति गरेको होइन भन्ने ओछो राजनीति पस्किएर राष्ट्रिय सभाको बाटोबाट प्रधानमन्त्रीलाई दबाबमा पार्ने काइते तरिका अवलम्वन गरेपछि माधव नेपाललाई सहकर्मीहरुले टेर्न छाडे ।

मनमोहनको निधनपछि सम्मानको बहानामा पद रिक्त राखिएको भनियो । व्यवहारमा पार्टी बैठकको अध्यक्षता र महासचिवीय भूमिका एक्लैले निभाएर एकल नेतृत्व र शक्तिको अभ्यास गरियो । यसरी आफ्नो सजिलोका लागि महासचिवको संस्था कमजोर पारेर र बहुदलीय जनवादीबीचमै फाटो ल्याएर एमालेको शक्ति ऐठन पारेको थाह पाउने राजनीतिक घ्राणशक्ति माधवसँग थिएन ।

थाह पाउन आवश्यक पनि ठानिएन । माधव नेपालकै पालामा एमाले विभाजन भयो । माधव नेपालकै पालामा राजा, राजावादी, काग्रेस र माओवादीबाट पालैपालो एमालेले अपमान र उपेक्षा बेहो¥यो । आज इतिहासको कठघरामा उभिन बाध्य हनुमा एमालेको शक्ति ऐठन पार्ने कृत्य बलियो कारण बनेको छ ।

परपार्टी मोह

मदन भण्डारीको खबरदारी थियो कि गिरिजा थापा गठबन्धन वामपन्थी एवं लोकतान्त्रिक आन्दोलनका लागि खलरनाक साबित हुन सक्छ । नभन्दै गिरिजा थापा गठबन्धन एमालेका निम्ति घातकसिद्द भयो । मनमोहनको निधनपछि माधव नेपालको सहभागिता पार्टी प्रमुखको हैसियतले कथित वृहत प्रजातान्त्रिक एकताको नबोलाएको बैठकमा हुन थाल्यो ।

गिरिजा–थापा गठबन्धनले माधवलाई बल्छीमा पारेर एमालेको हुर्मत लिएको सत्य तब प्रष्ट भयो जब २०६० सालमा सूर्यबहादुर थापा सरकारका मन्त्रीहरु माओवादीसँगको वार्ता टोली सदस्यको हैसियतले आशिष थाप्न कोइराला निवास पुगे । आफ्नो पार्टीको स्वाभिमानको मेरुदण्ड भाँचेर परपार्टी मोहलाई मौलिकता बनाउनु माधव नेपालको अर्को भुल थियो ।

राजा बलियो छँदा मलाई प्रधानमन्त्री दिन दरवारको एक लबी त तयार नै छ, अर्को लबीलाई पनि खुशी पार्ने पहल भैरहेको छ भन्नु जस्तो लाचारी, देउबालाई प्रधानमन्त्रीमा टिक्न नदिने र २०६३ सालमा मौका आउँदा नछोड्ने गिरिजाप्रसाद कोइराला समेतको समर्थन रहेको भन्दै राजालाई चढाएको बिन्ती पत्र, २०६४ सालमा भारत र गिरिजाप्रसाद कोइरालाको काखमा रहेर आतकको छायामा माओवादीले एमालेलाई थला पारे पनि माओवादीले आफुलाई राष्ट्रपति बनाइदेला देला भन्ने लोभ, अदूरदर्शिता र ईखको अभावमा देखिन्छ परपार्टी मोह ।

एमाले कार्यकर्ताको अदालतले नवौं महाधिवेशन नदिएको अध्यक्ष पद र ओलीको उठिबास लगाउने रहर माले डुबाएका वामदेव गौतम, जनमोर्चा डुबाएका नारायणकाजी श्रेष्ठ, एमाले डुबाएका आफु र माओवादी सकाएका प्रचण्डको समीकरण र षडयन्त्रले पूरा गरिददेला ठान्ने लोभ र पापमा पढ्न सकिन्छ माधव नेपालको आसे चरित्र । आन्तरिक एकताको बलमा अरु शक्तिको ओठतालु सुकाउनुको सट्टा आफ्नो पार्टीमा रडाको मच्चाएर संकटलाई निमन्त्रणा पठाउनु माधव नेपालको अक्षम्य गल्ती हो ।

प्रचण्ड सुधारमा अड्चन

माधव नेपालको ओलीका प्रतिको जलन र प्रचण्डको शरणले प्रचण्डलाई एमाले साँचोमा ढाल्न सकिने सुन्दर अवसर एक पटकका लागि गुमेको छ । लोकतान्त्रिकरणको व्रmान्तिकारी धार जनताको बहुदलीय जनवादी स्कुलिङ नै सबै खाले उग्रवामपन्थीलाई अधिनायकवादी कुलतबाट छुटकारा गराउन सिकाउने एक प्रकारको सुधारगृह हो ।

गुरुको भर नपरी सुधारकै क्रममा रहेका दुव्यसनीको संगतबाट सुधारगृहको नवप्रवेशीले आरोग्यलाभ उठाउन नसकेजस्तै नाममात्रका बहुदलीय जनवादी र जबजबिरोधीको कुसंगत प्रचण्डको बहुदलीय जनवादी रुपान्तरणका लागि तगारो बनेको छ । ओली र प्रचण्डका बीचको असमझदारीलाई पुरताल गरेर माधव नेपालसामु नेतृत्व र व्यक्तित्वमा आएको गिरावटलाई क्षतिपूर्ति गर्ने मौका थियो ।

नेपाल, खनाल र गौतमको ओलीको लोकप्रियताप्रतिको लगभग समान खाले जलन र अरुचिको चाल पाएपछि इमान, धैर्य र त्यागको राजनीतिको उकालो काट्नु भन्दा बेइमानी, छटपटी र हाताहातीको चिरपरिचित ओरालो र छोटो बाटो रोज्न प्रचण्डलाई सहज भयो । जुन छलछामको तीर चलाएर मोहनबिव्रmम सिंह, निर्मल लामा, मोहन वैद्य, निरञ्जन गोबिन्द वैद्य, बादल, बाबुराम र विप्लवको शिकार गरिएको थियो, त्यही तीरका लागि धनुष हुन माधव तयार भएपछि उपाय नलागेर साधु बन्न आएका प्रचण्डलाई ओलीलाई शिकार बनाउने गरी ब्याधा बन्ने रहर जाग्यो ।

लोकतन्त्र एबं जनताको सर्वोच्चताको शिक्षा र सबक, समाजवाद र सामाजिक न्यायको मात्रात्मक र गुणत्मक अन्तरसमन्ध, देशभक्ति र राष्ट्रियता, शान्ति र स्थिरता, बिकास र समृद्धिको तत्वज्ञानबाट प्रचण्ड बन्चितीकरणमा पर्नु देश फेरि संकटमा पर्नु हो । यसरी प्रचण्ड सुधारमा हालेको भाँजो माधव नेपालको अर्को गल्ती हो ।

ओलीलाई घात र मोदीलाई साथ

महाशक्ति भारतको चित्त दुःखाउन लिम्पियाधुरामाथि न्यायोचित, तर्कपूर्ण, तथ्यसंगत हकदाबी गरेर बिश्व रंगमञ्चमा वाही वाही बटुलेका प्रधानमन्त्रीलाई देशभित्र पार्टी, साथी र जनसमुदायबाट रानी माहुरीलाईझैं साथ र सहयोगको दरकार थियो । लिम्पियाधुरामा मोदीसँग पञ्जा लडाउने प्रधानमन्त्री ओलीको सबैभन्दा बलियो हतियार संसदमा दुईतिहाई बहुमत नजिकको सत्तारुढ दल नेकपा हो भन्ने सत्य भारतलाई थाह थियो ।

प्रचण्डसँग मिलेर नेकपाका एकताका सम्पूर्ण तन्तुहरु नष्ट गर्नु माधवले लिम्पियाधुरा मुद्दामा मातृभूमि नेपालमाथि गरेरको गद्दारी हो । सामान्य अवस्थामा व्यक्ति साथी र शत्रु रोज्न स्वतन्त्र हुन्छ तर, एक निर्णायक मोडमा देशभक्तिको आन्दोलनको महानायक र ब्राण्ड बनेका ओलीलाई घात गरेर माधवले मोदीलाई साथ दिएकाले एमालेभित्रको यो कार्यबाही प्रव्रिmया मातृभूमि माथिको गद्दारीको हिसाबकिताब पनि हो ।

पार्टीलाई विचारहीन, देशलाई मुद्दाविहीन, आन्दोलनलाई लक्षहीन बनाउनु माधव मक्सतको चुरो हो । त्यसको सट्टा गृह निर्माणमा ओलीले चमत्कार गरेपछि माधवमन बाढीभन्दा बढी धमिलो भयो । ओली युगको चमत्काररुपी सूर्यलाई रोक्न, छोप्न र कुहाउन बहुमत अल्पमत नचल्ने संव्रmमणकालीन अवस्थाको पार्टीमा बहुमतको बादल खडा गरियो । ओलीकै खल्तीबाट आएका टीके सचिवालय, स्थायी कमिटी र केन्द्रीय कमिटी सदस्यहरुलाई ओली सिध्याउने माकुरीमाउको जुनी ग्रहण गर्न बाध्य पारियो ।

माकुरे जालमा भैंसी पर्दैन । झिँगाको श्रापले डिंगो मर्दैन । देश र जनताप्रति समर्पित एउटा मानिसले मार, मुक्का र गोताहरुको सामना गर्दै कतिसम्म काम गर्न सक्छ भन्ने सत्यको दृष्टान्त २०६६ सालको सेनापति काण्ड यता ओलीले देखाएको चमत्कार सिलसिला हो । राजा, कांग्रेस र एमाले सुताइसकेपछि कुलबहादुर खड्कालाई विभीषण बनाएर सेना कब्जा गर्ने र सेनाको आडमा अधिनायकवादको सपना पूरा गर्न थालेका प्रचण्डलाई चखाएको सत्ताच्युतीको नमिठो स्वादबाट ओली उदयको असल सुरुवात भएको थियो ।

माओवादीको छद्म युद्ध र अधिनायकवादी सपनाको वैचारिक प्रतिरोध, भूकम्पपछिको उद्धार, राहत र पुनर्निर्माण अभियानको नेतृत्व, दुई दुई वटा संविधान सभा असफल पारेर नेपाललाई संविधान बनाउन नसक्ने असफल राष्ट्र करार गर्ने भारतीय चलखेललाई दिएको टक्कर, नाकाबन्दीको दृढतापूर्वक सामना, चीनसँगको ऐतिहासिक पारवहन सन्धीमार्फत् भारतले प्रयोग गर्ने नाकाबन्दी कार्डको खारेजी र भविष्यमा नाकाबन्दी नहुने आधारको सृजना, अतिव्रmमित भूमि लिम्पियाधुरा माथिको न्यायोचित र तर्कपूर्ण हकदाबी, जातीय र क्षेत्रिय अतिवाद विरुद्धको चट्टानी अडान र वैचारिक संघर्ष, पाइपलान, सुरुङ युग, मेलम्चीको काठमाण्डौंमा अवतरण, खानी अन्वेषण, पूर्वाधार निर्माण, अल्पविकसित देशबाट विकासशील देशका रुपमा मातृभूमिको शिरमा पहिरिएको ताज ओली राज र ओली युगका मेट्नै नसकिने निशानीहरु हुन् ।

विचारको राजनीति, लोकतन्त्रप्रतिको अटल निष्ठा, राष्ट्रियताको जगेर्ना, देशभक्ति, अधिनायकवादको अस्वीकार्यता, जातीय र क्षत्रिय अतिवाद बिरुद्धको संघर्ष, फुटवाद र जालझेलको राजनीतिको प्रतिरोधको अर्को नाम नै केपी ओली हो । लोकतन्त्र, समाजवाद एबं सामाजिक न्याय, देशभक्ति एबं राष्ट्रियता, शान्ति र समृद्धिको फहराएको झण्डा हो जनताको बहुदलीय जनवाद । शक्ति पृथकीकरण र आवधिक निर्वाचनप्रतिकोप्रतिवद्धता, अधिनायकवाद प्रतिको मोहभंग, राष्ट्रिय स्वाभिमान, विकास तथा समृद्धिको सपना र योजनाको अर्को नाम जबज हो । जबजलाई नेपाली राजनीतिको मियो बनाउन अटल रहनु ओलीले दिएको महत्वपूर्ण देन हो ।

जबजका मौसमी समर्थक, ओठेभक्त, विरोधीसँगको प्रतिष्पर्धाको दौरानमा तत्कालिन एमालेमा सानाठूला उतारचढाबहरु आइरहे । कांग्रेस र माओवादीको तानातान परेर एमालेको लोकतन्त्रप्रतिको निष्ठाको खुबै परीक्षा भयो । एमालेलाई स्वाभिमानको मेरुदण्ड मिल्नुको एक्लौटी श्रेय ओलीकै पोल्टामा जान्छ ।

पश्चिम बंगालमा भाकपा (माक्र्सवादी) जस्तै माधव नेपालको पालामा एमाले पतनका डिलमा पुगिसकेको थियो । निरास हतास भैसकेको एमालेलाई पुनर्जीवन दिन उत्कर्षकालीन माओवादीसँग पञ्जा लडाउने हिम्मत यदि ओलीमा नहुँदो हो त एमालेको अस्तित्व र जबजको सार्थकता एका देशको कथा हुने खतरा थियो । माधव र झलनाथको पालामा एमालेको भान्सा पाक्ने तरकारीमा नून खुर्सानीको मात्रा तोक्न गिरिजाप्रसाद कोइराला वा प्रचण्डको मुख ताक्नुपर्ने अवस्था थियो । ओली लहरले तिनै कांग्रेस र माओवादीको ओठतालु सुकाइदियो ।

विश्वका अन्य वामपन्थी दल चुनावी प्रतिष्पर्धामा पूँजीवादी लोकतन्त्रवादी पार्टीबाट पराजीत हुने गर्छन् । संसदीय लोकतन्त्र भएका मुलुकहरु मध्येमा नेकपालाई विश्वको एकमात्र विजेता कम्युनिष्ट पार्टी बनाउन सक्नु ओलीको चमत्कार हो । रामायण, महाभारत, वाइवल, कुरानदेखि पुराणसम्मले देखाएका छन् कि समय र मानिस यति ज्याद्रा कुरा हुन् कि यिनका अगाडि भगवान नै पनि रक्षात्मक बनेका छन् । रावणको व्यवस्थापन नगर्दासम्म राम जतिको नालायक र नाजुक सायद कसैलाई मानिदैन हो ।

पिताजीले ठेलेकै छ, सौतेनी आमा र भाइले पेलेकै छ, न राज्य छ, न राजाको भूमिका छ, न युवराजको पदवी बचेको छ, न घरबार छ, भएकी एक श्रीमती शत्रुको कब्जामा छ । प्रचण्डको सुकेको पार्टी र माधव नेपालको सुकेको गुटको जालझेलमा पारेर ओलीलाई गर्ने गरिएको प्रचण्ड ललकार पनि रामको दुःखमा दिनदशा थप्ने रावणको जस्तै विनाशकाले विपरीत बुद्धिको निरन्तरता थियो ।

सानो पार्टीको मर्म हेरेर दुई अध्यक्षलाई दिइएको भिटो अधिकारलाई जाली तमसुक शैलीमा तोडमरोड पारेर हिजो गाउँको ठूलो घर हान्ने शैलीलाई ठूलो पार्टी हान्नमा प्रयोग गरियो । बहुमत एमालेले जबज मान्न नपाइने, बहुमत एमालेले प्रचण्ड हटाउन नपाइने, तर बहुमतले ओली हटाउन पाइने, एमालेको चल अचल सम्पत्ती लुट्न पाइने र सूर्य चिन्ह हडप्ने जस्ता दोहोरो न्याय लादियो । हिजो घर हनाइ पाउनेले त राज्यबाट क्षतिपूर्ति पाए । प्रचण्ड माधव खेमालाई थिएन कि जनताको मनोदशा ग्रहदशाभन्दा निर्मम बन्न सक्छ ।

संस्कार, विचार, सदाचार, शक्ति र ऐश्वर्यले भरिपूर्ण देशहरु हस्तिनापुर, पान्चाल, मगधमा नभई शकुनीको जन्म कमजोर देश गान्धारमा भएको थियो । भनिन्छ भीष्मले बाहुबल र प्रभावको आड्मा नेत्रहीन नाति धृतराष्ट्रको बिबाह आफ्नी सुसंस्कृत र रुपसुन्दरी बहिनी गान्धारीसँग गरिदिएपछि शकुनीले हस्तिनापुरको सर्वनाश गरिछाड्ने संकल्प गरेका थिए ।

वामदेव गौतम ल्याएर चोरलाई चौतारो साधुलाई सुली गरेर माधव नेपालले घनश्याम योगेश प्रवृत्तिलाई पोसेको ओलीले सहन गरेको सत्यको साक्षी इतिहास छ । माओवादीसँगको चुनावी गठबन्धनको बेला माधव धारको भागका केही सिट माओवादीको भागमा परेको प्रतिशोधमा माधव नेपाल शकुनी बनेकैले र नेपाल धार शकुनी उत्पादन गर्ने कारखाना भएकाले नेकपाको महाभारत मच्चिएको थियो । चौध चौध वर्षसम्म माधव धारबाट अनाचार खपेर बहुदलीय जनवादीहरुले त्याग गरे । ओलीको रिसले प्रचण्ड हुँदै कांग्रेस र मोदीको चरणचुम्बन शकुनी कारखानाले आफैलाई खनेको खाडल हो ।

अरुले बनाएको बाटोमा हिड्ने व्यक्तिहरु पथिक मात्र हुन् तर नदी, बाढी, डोजर र जनताको विश्वास, आशिर्वाद र आशा प्राप्त गरेको राजनेता बाटोका निर्माताहरु हुन् । यिनीहरु जहाँ जान्छन् त्यहीँ जान्छ बाटो, त्यही हो बाटो । आफुसँगै देश हिडाउने सक्ने ओली चमत्कारको जरो सत्यसँग नलड्ने र शक्तिसँग नझुक्ने संकल्प र सिंगो जीवनमा रोपिएको छ ।

ओलीले यसरी पार्टी, आन्दोलन र देशको शान, मान र स्वाभिमान र गौरव बढाएकोमा माधवको मन हाँस्नु पर्दथ्यो । अहँ, उल्टै प्रचण्डसँग मिलेर घेराबन्दी, जालझेल र षडयन्त्रको जोहो गरियो । ओली बोक्न छोडेर भारतको अगाडि झोली बोक्ने विषयान्तर कलाको सार लिम्पियाधुरा सदाका लागि भारतलाई सुम्पिनु थियो । अब एमाले, सूर्य, जबज र ओली सिध्याउन आएका प्रचण्डलाई माधवले घरभित्रैबाट पुगाएको सहयोगको हिसाबकिताब कसैले टारेर टार्न सकिने भैसकेको छ । यसरी मित्रघात माधवबाट भएको अक्षम्य महापाप र अपराध हो ।

बहुदलीय जनवादीमाथिको गद्दारी

आधुनिक विश्वमा पछिल्ला चार दशकमा कतै पनि सशस्त्र संघर्षबाट जनक्रान्ति हुनसकेको छैन । लोकतान्त्रिक प्रतिष्पर्धा भएका मुलुकहरुमा पनि कम्युनिष्ट पार्टीको हालत नाजुक छ । जनताको साथ नपाउँदा विश्वभर कम्युनिष्टहरु कि ओढारमा छन् कि जनताबाट बढारिएका छन् । नेपालमा नेकपा९एमाले० मात्र विजेता पार्टी बनेको छ । किनकी एमालेसँग ओढारका हकदार कम्युनिष्टलाई राजकीय भण्डारको हकदार बनाउने निष्ठा, कला र विज्ञानको त्रिवेणीको रुपमा रहेको जनताको बहुदलीय जनवादी सिद्धान्त छ । माधव नेपालको नेतृत्वकालभर भने एमाले बाइस हण्डर त्रिपन्न ठक्कर खान बाध्य भयो ।

मदनको जोडबल जबजलाई चिन्तन, संगठन र जनसमर्थनको त्रिवेणीको प्रायोगिक विश्वविद्यालय बनाउने थियो भने माधव नेपालको मुल मक्सत पार्टी, साथी र आन्दोलनको अगेनोमा आफ्नो लागि मात्र चुलिएको महत्वाकांक्षाको रोटी सेकाउने मात्र रह्यो । मदनमा गैह्रकम्युनिष्टहरुलाई विचार, जनाधार र सदाचारको वलमा कम्युनिष्ट आन्दोलनमा समाहित गर्दै बहुदलीय जनवादी आरनमा खार्ने लगाव र समर्पण थियो तर माधवको कलापूर्ण निशाना र पेलानमा बहुदलीयहरु मात्र परे ।

बाहिरियाबाट पार्टीभित्रका सहकर्मीलाई घेराबन्दी, गैह्र कम्युनिष्टबाट कम्युनिष्टको तेजोवध र बहुदलीय जनवादी इतरबाट बहुदलीय जनवादीमाथि रक्तहीन कोतपर्वजस्ता हर्कतहरु हुँदै आए । आफ्ना लागि तत्काल अनुकूल छन् भने पार्टी बाहिरकाको भरपर्ने र बहुदलीय जनवादीहरुको अटलता, शालीनता र लगावलाई आफुलाई पुर्ने खाडल खन्ने कोदाली ठान्ने गरेकाले माधवराज चोरलाई चौतारो साधुलाई शूलीको जिउँदो जाग्दो उदाहरण थियो ।

जब एमाले जबजमय हुन थाल्छ तब माधव नेपालको जबजप्रतिको कुण्ठा र जलन प्रकट हुँदै कुर्लने गर्छ– ‘यो आन्दोलनमा सबैको उतिकै योगदान छ ।’ जब जबजको श्रेष्ठता साबित हुन्छ माधव नेपालको अरुचि छताछुल्ल भएर पोखिन्छ– ‘सबैखाले अनुभव, सुझबुझ र व्यक्तिको उत्तिकै आवश्यकता हुन्छ । कसैको पनि अपमान गरिनु हुँदैन ।’ जवजको निष्ठापूवक रक्षा गर्ने, यसको व्याख्या, विश्लेषण गर्ने र प्रचारयुद्ध छेड्नेजतिलाई माधव बठालियनको कटाक्ष हुन्छ– ‘जबजमा पिएचडी गरेका हामीसँग छन्, जान्नु न सुन्नु गोविन्दगाई ।’ जब कसैले जबजको मृत्यु घोषणा गर्छ माधव वटालियनले उत्सव मनाउँछ । जबज मिलनबिन्दु हुनथाल्छ, माधव वटालियनको भिडबाट आवाज आउँछ– ‘जबजकै कारणले पार्टी एकता रोकिन्छ भने कार्यकर्ताहरु आन्दोलनमा उत्रिन्छन् ।’

संक्रमणकालमा एमाले र माओवादीको मिलनबिन्दु जनताको जनवाद माने पनि महाधिवेशनबाट ६० प्रतिशत एमालेले जनताको बहुदलीय जनवाद छोड्नु हुँदैन भन्ने तर्क गर्दा माधव वटालियनको जबज बिरोधी राग फैलने गर्‍यो– ‘पार्टीको घोषित सिद्धान्त जनताको जनवाद नै हो ।’ जब केपी र प्रचण्डबीच महाधिवेशनबाट अध्यक्षमा प्रचण्ड र विचार बहुदलीय जनवादको सहमती हुने पहल फलदायी हुने देखिन्छ, प्रचण्डबाट जबजको सुरक्षा नहुँने संवेदना भड्काएर माधव नेपालमा रहेको भाँजोको खानी संचालनमा आउँछ र कोलाहल मच्चिन्छ– ‘दुई जनाको चोचोमोचोमा पार्टी कहाँ चल्छ । माधव नेपाल, केपीजी र प्रचण्डजीको कार्यकर्ता होइन ।

जबज बोकेर देश दौडाहमा जान्छु ।’ जब जबजको पक्षमा आवाजको जरुरत पर्छ माधवको शकुनी कारखानाबाट आवाज आउँछ– ‘ओलीले प्रधानमन्त्रीको पदसँग जबज साँटे, जबजको हत्या गर्ने ओली हुन् ।’ यसरी माधव नेपाल र माधव वटालियनको जबजप्रतिको रबैया बाँचे मेरो पोइ मरे बुढीको छोरोको जस्तै रहेको छ । बहुदलीय जनवादलाई मुलाको मुरलीझैँ बजे बजाउने नत्र चपाउने गरेर एमाले शक्ति ऐठन र समय बर्बाद पार्नु नै माधव नेपालको पतनको कारण हो ।

निष्कर्ष

समय सँधै एकनाश रहँदैन । सीपी मैनाली, आरके मैनालीको उठिबास लगाउने, वामदेव गौतमलाई हत्केलामा नचाउने, ओलीलाई जेलजीवनको भन्दा बढी पीडा दिएर घेराबन्दीमा पार्ने, माया ज्ञवालीको भाग खोसेर लक्की शेर्पा पोस्न सक्ने माधव नेपाल आफैले आज पार्टी अदालतको कठघरामा उभिएर स्पस्टीकरणको दण्ड भोग्न बाध्य हुनुपरेको छ । माधवको त्यो अहंकार र उल्कापात र अहिलेको ओरालो यात्राबाट पाठ सिक्न कृष्ण र गान्धारीको संवाद सहयोगी सिद्ध हुनेछ । कुरुक्षेत्रको मैदानमा दुर्योधनको लाश देखेपछि माता गान्धारी कृष्णलाई भन्छिन्– ‘हे मधुसूदन, समयको यो उल्टोपाल्टो खेल त हेर्नुस्– ‘राजाहरुलाई आदेश दिने र पृथ्वीमाथि राज गर्ने मेरो छोरो आज आफै धुलाम्य जमिनमा पछारिएको छ र स्याल–गिद्धहरुबाट घेरिएको छ ।’

गान्धारीबाट श्राप पाएपछि कृष्ण भन्छन्–‘हे माता, यदुवंशीहरु पनि अरुको अनादर गर्ने दुर्योधनजस्तै अहंकारी बनेछन् भने नाशिएलान् कोहीबात भएन तर सज्जनको ईश्या गर्ने र स्वजनको हित नचाहनेको हालत दुर्योधनको जस्तै हुन्छ । दुर्योधन दण्डको भागेदार थियो । यसमा मलाई पश्चाताप छैन ।’

प्रतिक्रिया दिनुहोस