बहुचर्चित अडियो काण्ड र पार्टी अनुशासनको सवाल



मिडियाको शक्ति
फागुन ७ गते प्रजातन्त्र दिवसका दिन बेलुकातिर सुरक्षण मुद्रण सम्बन्धी ‘अडियो काण्ड’ एकाएक भाइरल बन्यो । पूर्व सञ्चारमन्त्री गोकुल बाँस्कोटाको भनिएको ‘अडियो क्लीप’ सामाजिक सञ्जाल र विभिन्न मिडियामा भाइरल बनेपछि उनीमाथि पद त्याग्न चौतर्फी दवाव पर्यो । फागुन ८ गते दिनभर यो विषयले सडकदेखि संसदसम्मलाई बेस्सरी ततायो । के कसरी अघि बढ्ने भन्ने विषयमा सोही विहान बालुवाटारमा प्रधानमन्त्री र नेकपाका कार्यकारी अध्यक्ष प्रचण्डबीच आकस्मिक बैठक बस्यो । र अन्तत नैतिकताको प्रश्न उठिसकेपछि प्रधानमन्त्री केपी ओलीले आफ्ना विश्वासपात्र ठानिएका बाँस्कोटालाई बचाउ गर्नतिर नलागी राजिनामा गर्न निर्देशन दिए । बाँस्कोटाले ‘नैतिकताको आधारमा’ सोही दिन मन्त्री पदबाट राजिनामा दिए । उनले कसैलाई सत्तो सराप नगरी खुरुक्क सिंहदबार त्यागे । अरुहरुले जस्तो नत उनले ‘देशी विदेशी षडयन्त्रकारीहरु’लाई दोष दिए नत कसैले आफुलाई ‘फसाएको’ प्रतिक्रिया दिए । आफ्नो विषयमा कुरा उठिसकेपछि त्यसको निष्पक्ष छानविन गरी सही निर्णय लिन सजिलो पार्न भन्दै नैतिकताको आधारमा राजिनामा दिए । नत उनले विजय गच्छदारले जस्तो आफ्नो पक्षमा सदन घेराउ गर्न लगाए नत समर्थकहरुलाई सडकमा प्ले कार्ड बोकाएर प्रदर्शन गर्न लगाए । आफ्ना नेतालाई भ्रष्टाचारको अभियोग लाग्यो भनेर नेपाली काँग्रेसले गरेजस्तो हुलदङ्गा नेकपाले गरेन । यो हदसम्म बाँस्कोटा र नेकपा नेतृत्वको भूमिका संयमित र सन्तुलित देखियो । अनि संचार माध्यम र सामाजिक सञ्जालको अदभुत शक्ति पुनः स्थापित भयो ।

लगाम विनाका कार्यकर्ता
पूर्वमन्त्री गोकुल बाँस्कोटाले गल्ती गरेका थिए वा थिएनन् भन्ने कुराको निक्र्यौल हुनै बाँकी छ । यो कुरा जिम्मेवार निकायको छानविनपछि मात्र थाहा होला । यतिखेर उनी आरोपित मात्र हुन । कसैलाई कुनै आरोप लाग्दैमा ऊ अपराधि हुँदैन । आरोप त जसलाई जेपनि लाग्न सक्छ तर प्रमाणित भएमात्र ऊ दोषी हुन्छ । तर यो घटनामा नेकपाका कतिपय जिम्मेवार कार्यकर्ताहरु छाडा र अनुशासनहीन ढंगले प्रस्तुत भइरहेका छन । उनीहरु जथाभावि ढंगले सामाजिक सञ्जालहरुमा लेख्ने र विभिन्न मिडियामा बोल्दै हिडेका छन् । पार्टी अनुशासनको गंभीर उलंघन गरेर बाँस्कोटा विरुद्ध चाहिने नचाहिने तर्क वितर्क गरिरहेका छन् । उनीहरुले कानुन नै आफ्नो हातमा लिएर बाँस्कोटालाई जबरजस्त अपराधि करार गर्न खोज्दैछन । बाँस्कोटा पूर्व मन्त्री मात्र नभई पार्टीको केन्द्रीय नेता समेत हुन भन्ने कुराको हेक्का राखेका छैनन् । आकाशतिर फर्केर थुक्दा आफ्नै मुखमा पर्छ भन्ने कुरा अनुशासनहीन कार्यकर्ताहरुले बुझेका छैनन् वा बुझ्न चाहेका छैनन् । आज मात्र हैन हिजो पूर्व सभामुख कृष्णबहादुर महराको विषयमा पनि एकथरी कार्यकर्ताहरुले यस्तै अनुशासनहीनता प्रदर्शन गरेका थिए ।
यसको अर्थ नेताहरुको गलत कार्यको समर्थन गर्नुपर्छ वा गल्तीको ढाकछोप गरिदिनुपर्छ भन्ने कदापि हैन । तर पार्टीको कार्यकर्ता भइसकेपछि अनुशासन तोडेर छाडा साँढे हुने छुट पनि छैन । चित्त नबुझेको कुरा छ भने पार्टी कमिटीभित्र जतिपनि उठाउन पाईन्छ तर सार्वजनिक रुपले जथाभावि खोक्दै हिड्न मिल्दैन । गोकुल बाँस्कोटाले के कति गल्ती गरेका थिए वा थिएनन् भन्ने कुराको फैसला गर्नको लागि राज्यका बैधानिक निकायहरु छँदैछन, कार्यकर्ताहरुले त्यसमा टाउको दुखाउनु जरुरी छैन । आफुलाई मन नपरेको नेता हो भन्दैमा पार्टीका कार्यकर्ताहरु अख्तियारका सिपाही जस्तै बन्ने होइन । यस विषयमा पार्टीको अनुशासन विभागको ध्यानाकर्षण हुनु जरुरी छ । पार्टी अनुशासन, विधि र पद्धतिलाई धोती लगाएर जिम्मेवार पदमा बसिरहन सुहाउदैन । पार्टीको एक जना सदस्य परिबन्दवस समस्यामा पर्दा खुच्चिङ गर्नु कम्युनिष्ट संस्कार होइन । मान्छेको मृत्यु र दिन–दशा(परिस्थिति)को केही भर हुँदैन । कसलाई कतिखेर के आइपर्छ कसैले अनुमान गर्न सक्दैन । त्यसकारण एउटा कमरेडको दुखमा रमाउने कम्युनिष्ट कार्यकर्ता कदापि हुन सक्दैन । गोकुल बाँस्कोटाले गल्ती गरेको पुष्टि भए त्यसको सजाय उनैले भोगिहाल्छन नि, तपाइलाई केको टेन्सन ? सक्नुहुन्छ भने कमरेडलाई परेको दुखमा सहानुभूति प्रकट गर्नुस, उनलाई धैर्य धारण गर्ने सामथ्र्य जुटाइदिनुस, गल्ती गरेको भए प्रायश्चित गर्नसक्ने शक्ति जुटाइदिनुस, त्यति गर्न सक्नुहुन्न भने विपक्षी दलका कार्यकर्तालाई समेत उछिनेर उनी विरुद्ध मुख छाड्ने काम तुरुन्त बन्द गर्नुस् ।

विपरितहरुको एकत्वको नियम
द्धन्दात्मक भौतिकवादी आँखाले हेर्ने हो भने हरेक पदार्थ दुई विपरितहरुको एकत्वले बनेको हुन्छ । विज्ञानका अनुसार पदार्थको सवभन्दा सानो इकाईलाई परमाणु भनिन्छ । एउटा परमाणुभित्र पनि दुई विपरित विशेषता बोकेका तत्व अस्तित्वकृत हुन्छन । तीहुन– प्रोटोन (धनात्मक) र इलेक्ट्रोन (ऋणात्मक) । यी दुई विपरितहरुको एकत्वबाट एउटा पदार्थ बनेको हुन्छ । रसायनशास्त्रमा मात्र होइन यो कुरा खगोल शास्त्रमा पनि लागु हुन्छ । जस्तो कि २४ घण्टाको एक दिन हुन्छ र त्यसमा करिब आधा समय उज्यालो दिन हुन्छ भने बाँकी समय चकमन्न रात हुन्छ । एक दिनको अवधिमा पनि दुई विपरितहरुको सम्मिलन हुन्छ । यति मात्र हैन, विपरितहरुको एकत्वको नियम समाज विज्ञानमा पनि लागु हुन्छ । जस्तो कि असल र खराब, कालो र सेतो, सकारात्मक र नकारात्मक, तल र माथि, भित्र र बाहिर आदि ।
विपरितहरुको एकत्वको नियम जीव विज्ञानमा पनि लागु हुन्छ । तसर्थ मान्छेमा पनि लागु हुन्छ । एक जना मान्छेभित्र पनि असल र खराब दुवै गुणहरु विद्यमान हुन्छन । सकारात्मक र नकारात्मक दुवै प्रकारको सोंचहरु एउटै मान्छेभित्र हुन्छन । संस्कारी र असंस्कारी दुवै किसिमकाव् यवहारहरु एकै व्यक्तिसँग हुन्छ । कतिबेला कुन गुणले जित्छ भन्ने कुरा मात्र फरक हो । कति बेला कुन सोचाई हावी हुन्छ भन्ने कुरा मात्र फरक हो । कुनै पनि व्यक्तिले मसँग नराम्रो विशेषता छँदै छैन भन्ने दावी गर्छ भने त्यो विज्ञानको नियम विपरितको पाखण्ड मात्र हो । यो एउटा अकाट्य र सर्वस्वीकार्य सैद्धान्तिक मान्यता हो । यस मान्यता विपरित कोही पनि चल्न सक्दैन ।

बाँस्कोटा : परिणामुखी नेता
मन्त्री पद नै खाइदिएको ‘अडियो काण्ड’ को विषयमा राज्यका निकायबाट छानविन होला, त्यसको सत्य तथ्य सार्वजनिक होला, बाँस्कोटा दोषी वा निर्दोषी सावित होलान, त्यसको लागि केही समय अवश्य कुर्नुपर्ला । उनी खरो बोल्छन, मनमा जे लागेको छ त्यो बोल्छन, डेन्टिङ्ग पेन्टिङ्ग गरेर बोल्ने बानी छैन । उनको अभिव्यक्ति यतिवेला आफ्नै लागि ‘तित्राको मुखै वैरी’ भनेजस्तो हुनगयो । पार्टीभित्र पनि उनले शायद प्रधानमन्त्री बाहेक अरु नेताहरुलाई रिझाउन सकेनन्होला, नजिकका साथी संगातीहरुलाई पनि विश्वासमा लिन सकेनन् होला, त्यो आफ्नो ठाँउमा छ । यो कुरा उनको ‘अपोजिशन क्यारेक्टर’ को रुपमा रहन पुग्यो । माथि चर्चा गरिएझैं यसलाई उनीभित्रको ‘ऋणात्मक तत्व’ अर्थात ‘इलेक्ट्रोन’ को रुपमा अथ्र्याउन सकिएला ।

तर यसका अलावा बाँस्कोटाभित्र उल्लेखनीय रुपले ‘धनात्मक तत्व’ अर्थात ‘प्रोटोन’ हरु पनि त छन् । आज एकोहोरो ढंगले उनकै शब्दमा ‘शिकारी आँखा’ ले लखेटिरहँदा एक जना प्रतिभाशाली र परिणाममुखी नेताप्रति अन्याय गरेको ठहर्दैन र ? बाँस्कोटा आफुले जिम्मा लिएको मन्त्रालय अन्तरगतका काममा निकै सक्रियताका साथ अहोरात्र खटेका थिए । मन्त्रीमण्डलमा उनको ‘पर्फर्मेन्स’ औसतभन्दा माथि नै थियो । यो दुई वर्षको अवधिमा बेला बेला भएका आवधिक मूल्याङ्कनमा उनले सम्हालेको सञ्चार मन्त्रालय जहिले पनि ‘ग्रीन जोन’ अर्थात राम्रो परिणामवाला समूहमा पर्ने गरेको थियो ।

पत्रकारहरुको न्यूनतम पारिश्रमिक लागु गर्ने निर्णयमा बाँस्कोटाले चट्टाने अडान लिँदै आएका थिए जसले गर्दा सञ्चारगृहका संचालकहरु उनीप्रति रुष्ट भएका थिए तर श्रमजीवी पत्रकारहरु भने खुशी नै छन् । यसअघि कसैले ल्याउन नसकेको बहुचर्चित ‘क्लीन फीड’ नीति उनले नै ल्याए । जेष्ठ पत्रकारहरुलाई पेन्सन दिने निर्णय पहिलो पटक उनैले गराए । समानुपातिक विज्ञापन नीति ल्याएर सानो लगानीका मिडियाहरुलाई संरक्षण गर्ने अभियानको शुरुवात उनैले गराए । देशभरका दर्जनौं सामुदायिक विद्यालयहरुमा ‘आइटी ल्याब’ स्थापना गराए । देशका ७७ वटै जिल्लामा फोरजी सेवा संचालन गराए । बीस वर्षदेखि बहसमा रहेको तर हालसम्म कसैले पनि नगरेको काम नेपाल टेलिभिजन र रेडियो नेपाललाई गाभेर ‘सार्वजनिक सेवा प्रसारक’ अर्थात पी.एस.बी. स्थापनाको लागि विधेयक पेश गर्ने काम बाँस्कोटाले नै गरे । यस्तै सूचना प्रविधि ऐन ल्याएर ‘न्यू मिडिया’ र सामाजिक सञ्जाललाई करको दायराभित्र ल्याउने कामको पहल पनि बाँस्कोटाले नै गरे । नेपाल टेलिभिजनको प्रविधि रुपान्तरणअन्तरगत सबै च्यानलहरुको ज्म् रुपान्तरण र गोरखापत्रको अपूर्व सुधार पनि बाँस्कोटाकै कार्यकालमा भयो । सूचना प्रविधिको माध्यमबाट देशकै मुहार परिवर्तन गर्ने गर्ने उद्देश्यसहित ‘डिजिटल नेपाल’को अवधारणा कार्यान्वयनमा ल्याइदैछ । पछिल्लो समय शहरी विकास मन्त्रालयको जिम्मेवारी सम्हालेपछि निर्माणोन्मुख मन्त्री क्वार्टरको संख्या घटाएर त्यसबाट निकालिएको बजेटले जेष्ठ नागरिकहरुको लागि ‘बाजे–बज्यै पार्क’ बनाउने निर्णय गराए ।

जेहोस बाँस्कोटा ओली मन्त्रीमण्डलका जल्दाबल्दा र उम्दा मन्त्रीभित्र पर्दथे । हुन नसकेको कामको अपजस कर्मचारीहरुलाई बोकाउने बानी थिएन । कयौं मन्त्रीहरुले ‘कर्मचारीहरुको असहयोगले गर्दा परिणाम निकाल्न सकिएन’ भन्ने गुनासो सुनाउदै हिडेको पाइन्छ तर बाँस्कोटाले कहिल्यै पनि त्यसो भनेनन् । कर्मचारीहरुलाई दोष लगाउने होइन कि उनीहरुलाई परिचालन गरेर काम फत्ते गर्नुपर्छ भन्ने मान्यता उनको थियो । वर्तमान अवस्थाको जटिल कर्मचारी संयन्त्र परिचालन गरेर तोकिएको परिणाम निकाल्ने खुबी बाँस्कोटाले प्रदर्शन गरेका थिए । यति मात्र हैन सरकारका विरुद्ध असिनासरी बर्षिने आलोचनाहरुको डटेर सामना गर्ने मन्त्री गोकुल बाँस्कोटा नै थिए । उनी सरकारको प्रवक्ताको भूमिकामा मात्र सीमित रहेनन् , त्योभन्दा माथि उठेर हरपल सत्तारुढ पार्टीले लिएका निर्णयहरुको प्रतिरक्षा गर्ने बफादार सिपाहीको छवि समेत बनाए ।

र, अन्त्यमा
गोकुल बाँस्कोटा गत आम निर्वाचनमा सवैभन्दा लोकप्रिय मत ल्याउने केपी ओलीपछिका दोस्रो नेता हुन् । उनी आज जुन किसिमको फन्दामा फसेका छन् त्यो विषयलाई ‘शिकारी आँखा’ (अर्थात एउटा आँखा चिम्लेर सिक्काको एउटा पाटो मात्र हेर्ने) ले हेर्ने काम गर्नु न्याय संगत हुँदैन । विरोधीहरुको बोलीमा लोली मिलाएर बुरुक बुरुक उफ्रिरहेका कार्यकर्तालाई अनुशासनको लगाम कस्ने काम पार्टीले तत्कालै गर्नुपर्दछ । किनकि……मर्यो भन्दा पनि काल पल्केला भन्ने डर हो । ‘अडियो काण्ड’ का विषयमा कतिपय कार्यकर्ताहरुले देखाएको अन्तरघाती प्रवृत्तिलाई बेलैमा निस्तानाबुँद गर्न सकिएन भने पार्टीभित्र अराजकताको आगो झनै दन्किदै जान्छ । रोगको उपचार बेलैमा गरिएन भने सञ्चो नहुन पनि सक्छ जसको असर आगामी चुनावमा प्रकट हुनसक्छ ।

प्रतिक्रिया दिनुहोस