बिहिबार, १३ फाल्गुण २०७७

प्रचण्ड-माधव समूह : पार्टी कि पानीको फोका ?



लेखक

 

तत्कालिन एमाले र तत्कालिन माओवादी एकता हुदा वैचारिकभन्दा प्राविधिक एकतालाई प्राथमिकता दिइएको थियो । प्रतिसत र भागबण्डामा केन्द्रित एकता थियो । संसदीय सिटमा भागबण्डा मन्त्रीमण्डलमा भागबण्डालाई त गठबन्धनमा सामेल दुइ पार्टीको छुट्टै अस्तित्व भएको अवस्थामा स्वाभाविक मानिए पनि पार्टी एकता भएको लामो समय बितिसक्दा पनि तलदेखि माथिसम्म सबैतिर प्रतिसत र भागबण्डाबाहेक पार्टी संचालनको अरु तरिका नदेखिनु यो एकताको सबभन्दा अस्वाभाविक विषय थियो ।

बाम गठबन्धनले झन्डै दुइ तिहाइ बहुमत ल्याएपछि पार्टी अध्यक्ष के पी शर्मा ओलीको नेतृत्वमा सरकार बनेदेखि नै पार्टीका अर्का अध्यक्ष प्रचण्डलगायत  सबै शीर्ष नेताहरुको ध्यान पार्टीको परिभाषित जिम्मेवारीमा  भन्दा सरकारतिर सोझियो । र, देश र जनताको पक्षमा राम्रों काम गरिरहेको सरकारलाई पार्टीभित्रै बाट हरेक विषयमा हलो अड्काउन शुरु गरियो । देशको सर्वोच्च कार्यकारी पद प्रधानमन्त्रीको स्वविवेकीय अधिकारलाई समेत पार्टीले सरकार चलाउने हो भन्दै अस्वभाविक हस्तक्षेप गर्ने निरन्तर प्रयास गरियो ।

शान्ति प्रक्रियापछि तत्कालीन माओवादीमा देखापरेको अराजकता, अस्तव्यस्तता र सत्ताको छिनाझपटी जस्ताको तस्तै नवगठित नेकपा प्रवेश गराइयो । पार्टीको मूल नेतृत्वविरुद्ध निरन्तर रुपमा पार्टीभित्र र सार्वजनिक रुपमै आक्रमण गरियो । पार्टीका महत्वपुर्ण गोपनीयतालाई समेत शीर्ष तहबाटै अवान्छित तरिकाले चुहाईयो । पार्टीका ‘कार्यकारी’ अध्यक्षले आफ्नो पार्टीको सरकारलाई सफल बनाउन भूमिका खेल्नुपर्नेमा, प्रधानमन्त्रीलाई लोकप्रिय बनाउन भूमिका खेल्नु पर्नेमा त्यसको उल्टो सरकारलाई असफल र अलोकप्रिय बनाउन प्रतिपक्षभन्दा बढी आलोचना र विरोधमा उत्रिए । पार्टी प्रवक्ता पार्टीको आधिकारिक लाइनको प्रचार प्रसार गर्नुको सट्टा आफ्ना कुण्ठाको अन्टसन्ट प्रचार गरिरहे । नेकपामा यसरी न्यूनयम विश्वास पनि बन्न सकेन ।

आफु तत्कालिन माओवादीको सुप्रिम कमान्डर हुदाँ पार्टीभित्रका आफ्ना आलोचकलाई लिन प्याओको बिल्ला भिराइ हाल्ने प्रचण्ड पार्टी एकता भए लगत्तैदेखि पार्टीको मूल नेतृत्वलाई खुइल्याउन लिन प्याओकै भूमिकामा देखिए । उनी नेकपा भत्काउन निरन्तर षणयन्त्र, गूटबन्दी र अराजकताको इस्तेमाल गर्न पुगे ।

अर्कातिर देशको सार्वभौमिकता, स्वतन्त्रता, आर्थिक समृद्धीको लागि सवल पार्टी र राष्ट्र बनाउन अहोरात्र खट्नुभएका पार्टी अध्यक्ष तथा प्रधानमन्त्री के पी शर्मा ओलीले पार्टीबाट वहाँविरुध्द  पोखिएका हरेक प्रकारका विष पचाउदै आउनु भयो । अप्ठ्याराहरु पर्गेल्दै आउनु भयो । निरन्तरको घुर्की र धम्कि सहन गर्दै आउनु भयो ।  सबैतिरबाट घेराबन्दी भएपछि  मिलेर जानै नसक्ने अवस्थामा संसद भंग गरेर ताजा जनादेश लिने युगीन निर्णयमा जानुपर्ने अवस्था आयो ।

भयंकर घेराबन्दी र असहयोग गर्दा पनि प्रधानमन्त्री एवं नेकपा अध्यक्ष के पी शर्मा ओलीलाई गलाउन नसकेपछि आफूले भनेजस्तो नहुदा आफ्नै पार्टी भत्काउदै आउनुभएका नेकपाका ‘कार्यकारी’ अध्यक्ष प्रचण्ड जनताको बहुदलीय जनवादको वैचारिक पोखरीमा लामो समय पौडी खेलेका माधव नेपाल, झलनाथ खनालसंगै पार्टी विभाजन गरेर अलग भए ।

शान्ति प्रक्रियामा आएपछि अध्यक्षको हैसियतमा कमरेड प्रचण्डको पार्टी संचालनको ट्र्याक हिस्ट्री त्यति राम्रो छैन । संधै अराजकता, संधै विखण्डन ।

देशको भाग्य र भविश्य बोकेको नेकपालाई छिन्नभिन्न बनाऊन प्रचण्ड-माधव समूह घुँडा धसेर लागिपरेको छ ।

कमरेड प्रचण्डको कमाण्डरी आक्रोश, निरङ्कुश शैली,जननेता मदन भण्डारीप्रतिको घृणा,संसारमा असफल भएको एकाधिकारवादी कम्युनिष्ट शासन प्रणाली प्रतिको मोह नेपाली जनताले पटक्कै मन पराएका छैनन् ।

सबै बाम मतदाताले बुझेकै छन्-जनताको बहुदलीय जनवाद र तत्कालीन एमालेको सम्पूर्ण लिगेसी के पी ओलीले नेतृत्व गरेको नेकपामा रहेको छ, रहने छ ।

र, अहिले उनको पछि-पछि दौडेका माधव-जेएनलगायतका जनताको बहुदलीय जनवादको वैचारिक धरातलमा हुर्केका नेता कार्यकर्ताहरू उनको त्यो शैलीबाट चाँडै आजित हुनेछन् ।

र, ढुक्कले भन्न सकिन्छ- जसरी देशकै सबैभन्दा ठूलो पार्टी तत्कालीन ‘एमाओवादी’ निमेषमै भताभुङ्ग बन्यो, अहिले बन्न लागेको प्रचण्ड-माधव समूह पनि पानीको फोका सरह हुनेछ ।

 

प्रतिक्रिया दिनुहोस