शुक्रबार, १० बैसाख २०७८

कर्णाली प्रदेशका तीन मन्त्रीले दिए सामुहिक राजिनामा : राजिनामा दिने सबै मन्त्री माधव पक्षका

मुख्यमन्त्री शाही अल्पमतमा



सुर्खेत । कर्णाली प्रदेशमा नेकपा एमालेका तीन मन्त्रीले सामुहिक राजीनामा दिनुभएको छ ।
कर्णाली प्रदेश सरकारमा एमालेका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वाला, सामाजिक विकास मन्त्री दल रावल, उद्योग पर्यटन वन तथा वातावरण मन्त्री नन्दसिंह बुढाले राजिनामा दिनभुएको हो ।

पार्टीको संसदीय दलले दिएको निर्देशन पालना गर्दै उहाँहरुले आज मुख्यमन्त्री महेन्द्रबहादुर शाही समक्ष राजीनामा दिनुभएको हो । उहाँहरु तिनै जना माधव नेपाल समूहका हुनुहुन्छ ।

माओवादी केन्द्रबाट मुख्यमन्त्री बनेका महेन्द्रबहादुर शाही नेतृत्वमा रहेको प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि एमालेले आफ्नातर्फबाट बनेका ३ मन्त्रीलाई पदबाट राजीनामा दिन निर्देशन दिएको हो।

कूल ४० सांसद रहेको कर्णाली प्रदेश सभामा २० सांसद रहेको एमालेले समर्थन फिर्ता लिएपछि माओवादी केन्द्रको नेतृत्वमा रहेको प्रदेश सरकार अल्पमतमा परेको छ। माओवादी केन्द्रसँग १३ सांसद मात्र छन्। कूल ४० सांसद रहेको कर्णाली प्रदेश सभामा सरकार टिकाउन अब उसलाई २१ सांसदको समर्थन चाहिन्छ। अन्यथा सरकार ढल्नेछ।

प्रतिक्रिया दिनुहोस