शुक्रबार, १९ मंसिर २०७७

भारतका बबुराे गुप्तचर र केपी अ‌ाेली : शंकाकाे सुई कता ?



रअका प्रमुख सामन्त गोयलको नेपाल आगमन र प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटले नेपाली राजनीति तथा दक्षिण एसियाको कूटनीतिमा गहिरो अर्थ राख्छ । दूरगामी प्रभाव पर्न सक्छ ।

रअका प्रमुख लुकिछिपी आएनन् । खुलेआम आए । भारतले कसैलाई प्रतिनिधि पठाउँछ भने नेपालले कुरा गर्नुपर्छ । प्रधानमन्त्रीले कुरा गर्नुपर्छ । सामन्त गोयलसँग प्रधानमन्त्री केपी शर्मा ओलीको भेट औपचारिक होइन, अनौपचारिक हो । भारतले अनौपचारिक कुरा गर्न जसलाई पठाए पनि भेट्नुपर्छ । युद्ध गरिरहेका देशबीच समेत अनौपचारिक कुराकानी हुन्छ भने नेपाल र भारत युद्धरत देश होइनन् । यद्यपी, भारतमा युद्धोन्माद बढिरहेछ, उसले छिमेकीलाई सैन्य र सामरिक आँखाले मात्र हेर्ने गरेको छ । यो भेट प्रकरणले वार्ता र संवादको बाटोबाट आपसी समस्या हल गर्न नेपाल कति प्रतिवद्ध छ भन्ने पनि प्रष्ट्याएको छ ।

रअका प्रमुख अथवा विदेशी गुप्तचरसँग लुकिछिपी भेट्नु चाहिँ गलत हो । खुसुक्क भेट्ने अनि भेटेको छुइन भन्दै मिडियावाजी गर्नु झनै गलत हो ।

ओलीले गोयलसँग भेट्दा प्रोटोकल मिलेन पनि भनिँदैछ । तर, अनौपचारिक भेटघाटमा प्रोटोकलको खासै अर्थ हुँदैन । औपचारिक वार्ता तथा सन्धि सम्झौतामा हो प्रोटोकलको पूर्ण पालना ।

दिल्लीमा कैद कूटनीति 

रअका प्रमुखलाई प्रधानमन्त्री ओलीले किन भेटेको ? यसरी प्रश्न उठाइँदैछ । प्रश्न ठाडै गलत हो । उठाउनुपर्ने प्रश्न हो– भारतले रअका प्रमुखलाई नै किन पठाएको ? अरु कोही थिएनन् ? भारत किन आफ्नो देशको कूटनीतिक गतिविधिमा गुप्तचरलाई खुलेआम प्रयोग गर्दैछ ?

सेनालाई राजनीतिमा लगाउनु र गुप्तचर निकायलाई कूटनीतिमा लगाउनु उस्तैउस्तै हो । दुवै काम घातक हुन्छ । हो, कूटनीतिमा गुप्तचरीको महत्वपूर्ण भूमिका हुन्छ । तर, ‘कूटनीति पछाडि गुप्तचरी अगाडि’ हुनु भनेको ‘गाडा अगाडि गोरु पछाडि’ हुनु जस्तै हो जसले दुर्घटना मात्र निम्त्याउँछ । मोदी सरकारको यस्तो प्रवृत्तिको भारतभित्रै आलोचना भइरहेको तथ्यमा पनि नेपालीले ध्यान दिनुपर्छ ।

तसर्थ, प्रधानमन्त्री ओलीले रअका प्रमुखलाई किन भेटेको भन्ने प्रश्न नै वेठिक छ । भारतले नेपालका प्रधानमन्त्रीसँग भेट्न रअका प्रमुखलाई नै किन पठायो भन्ने चाहिँ ठिक प्रश्न हो ।

भारतले रअ प्रमुखलाई नै किन पठायो भन्ने बुझ्न भारतीय नीतिलाई हेर्नुपर्छ, भारत कुन बाटोमा जाँदैछ भन्ने हेर्नुपर्छ । सामन्त गोयलको आगमनलाई अंशमा हेरेर हुँदैन, समग्रतामा हेर्नुपर्छ ।

एकतन्त्रीय र सर्वसत्तावादी बन्दै गएको सरकार भएको देशमा नागरिक संस्थाहरु कमजोर र गौण बन्छन् । त्यस्तो देशमा बन्दूक बलियो हुन्छ, विचार कमजोर बन्छ, कूटनीति ओझेल पर्छ, गुप्तचरी हावी हुन्छ । अहिले भारतमा यही भइरहेछ । भारतले तिब्र सैन्यकरण गरिरहेछ । हतियारको होडमा लागेको छ । लोकतान्त्रिक, कूटनीतिक तथा खुला संस्थाहरुको भूमिका कमजोर बन्दैछ, रअ जस्ता गुप्तचर संस्थालाई भूमिका दिइँदैछ । नेपालसँग मात्र नभएर अन्य देशहरुसँग पनि उसको सम्बन्ध सैन्य र गुप्तचर आधारित हुँदै गएको छ । यो भारतको समस्या हो, नेपालको होइन । यो नरेन्द्र मोदीको समस्या हो, केपी ओलीको होइन । रअका प्रमुखलाई कूटनीतिक भूमिका दिएर नेपाल पठाउँदा भारतको इज्जत, शाख र विश्वसनीयतामा जुन क्षति भएको छ, त्यसको दोष केपी ओलीलाई दिनु हास्यास्पद छ ।

विगतमा लोकतन्त्रवादी कहलिएको भारत केही वर्षयता सैन्यवादी बन्दै गएको छ । भारतको विदेश मामिला विदेश मन्त्रालयले भन्दा रक्षा मन्त्रालयले चलाउन थालेको देखिन्छ । त्यहाँको विदेश मामिलामा पहिलेदेखि नै राजनीतिक नेतृत्वभन्दा कर्मचारीतन्त्र हावी थियो, केही वर्ष यता गुप्तचरतन्त्र समेत हावी हुन थालेको देखिन्छ । त्यहाँको वैदेशिक मामिलाको नीति निर्धारणमा गुप्तचर र पूर्व गुप्तचरहरुले कब्जा जमाएका छन् । त्यसको दुष्प्रभाव समग्र भारतीय नीतिमा देखिने नै भयो ।

रअलाई कूटनीतिक भूमिकामा उतार्नुको अर्थ भारतको औपचारिक कूटनीतिक संयन्त्र कमजोर बन्नु हो । भारतले दक्षिण एसियामा विगतमा कूटनीतिको आवरणमा सैन्य तथा गुप्तचरी कार्य गर्ने गरेको थियो । अब गुप्तचरी संयन्त्र मार्फत् कूटनीति गर्न थाल्यो । पतन उन्मुख भारतीय सत्ताको यो एउटा उदाहरण हो ।

भारतले छिमेकीहरुसँगको सम्बन्धमा कूटनीतिक संयन्त्रलाई भन्दा गुप्तचरी निकायलाई प्राथमिकता दिने गरेको इतिहास छ । यही कारण भारत छिमेकमा मित्रविहिन हुने गरेको छ । दक्षिण एसियाको कुनै देशलाई मित्र बनाउनुपर्‍याे भने भारतले सो देशमा षडयन्त्रमूलक तरिकाले आफू अनुकूलको सरकार लाद्‍ने गरेको छ । कूटनीतिलाई राजधानी दिल्लीमा कैद गरेर रअलाई अगाडि सारेर बनाइएको सरकार कतिबेला गिर्छ टुंगो पनि हुँदैन । यसको उदाहरण नेपाल पनि हो कसरी भन्नु ? तर, मालदिभ्स र श्रीलंका त हो नै ।

केपी ओलीको विश्वसनीयता

यूरोप तथा अन्य कतिपय देशमा ‘नेसनलिष्ट’ शब्दलाई उग्रताको अर्थमा प्रयोग गरिन्छ । अंग्रेजी ‘नेसनलिष्ट’ शब्दको नेपाली उल्था ‘राष्ट्रवाद’ हो भन्न सकिएला तर ‘नेसनलिष्ट’ले जे अर्थ दिन्छ नेपालमा ‘राष्ट्रवाद’ले त्यो अर्थ दिँदैन । नेपालमा राष्ट्रवाद भनेको उग्रतावोधक शब्द होइन । आफ्नो देशलाई माया गर्ने र सबै देशसँग मित्रवत् सम्बन्ध राख्ने अर्थमा नेपालमा राष्ट्रवादलाई बुझिन्छ । केपी ओलीको छवी राष्ट्रवादी छ । सामन्त गोयलसँग भेटेपछि केपी ओली राष्ट्रवादी रहेनन्, भारतसँग लम्पसार परे भनेर बलपूर्वक प्रचारप्रसार गर्न खोजिँदैछ ।

यो पंक्तिकार के ठान्छ भने नेपालमा जतिजना प्रधानमन्त्री भए उनीहरुले नेपाल राज्यलाई बलियो बनाउन यथासक्य प्रयास गरेकै हुन् (एकडेढ जना प्रधानमन्त्री अपवाद ठहरिए ।) विगतमा भारत तथा अन्य देशसँग नेपालले जेजस्ता कार्यव्यवहार गर्‍यो तीमध्ये कतिपयमा नेपाललाई फाइदा भयो, कतिपयमा घाटा भयो । तर, एकडेढ जना प्रधानमन्त्रीलाई छाडेर बाँकी सबैले देशको भलाई होस् भनेरै काम गरे । एकडेढ जनाको नियत भने खराब देखियो ।

झन् केपी ओलीको त कुरै भएन । प्रधानमन्त्री केपी ओलीले एकजना भारतीय गुप्तचर बबुरोलाई भेटेर नेपालको राष्ट्रिय हित उसको पाउमा चढाउने कुरा कल्पना पनि गर्न सकिन्न । आफ्नो देशको प्रधानमन्त्रीलाई यो हदसम्मको अविश्वास कसैले गर्छ र यो हदसम्मको आरोप लगाउँछ भने त्यो उसको हिन मानसिकताको उपज मात्र हो ।

आफ्नो गुप्तचर प्रमुखलाई नेपाल पठाएर भारतले प्रकारान्तरले धम्की पनि दिएको हो । भारतसँग आगामी दिनमा नेपालले अझ सघन वार्तामा बस्नु छ । यस्ता अनेक अनौपचारिक वार्ता भविष्यमा पनि भइरहने छ । यो अवस्थामा नेपालीले आफ्नो देशको प्रधानमन्त्रीलाई अझ बलियो बनाउनुपर्छ । अविश्वास र भ्रमको खेति गरेर प्रधानमन्त्रीलाई कमजोर बनाउन खोज्नु भनेको भारत र रअलाई सघाउ पुर्‍याउनु हो ।

भारतले रअका प्रमुखलाई नै नेपाल पठाउनुमा अनेक नियत छँदैछ, एउटा नियत चाहिँ केपी ओलीलाई ताछ्ने–खुइल्याउने पनि हो । रअका प्रमुखलाई नेपाल पठाउने, नेपालमा रहेका आफ्ना प्यादाहरु मार्फत् ‘रअका प्रमुखसँग किन भेटिस्’ भनेर उल्टै ओलीमाथि नै प्रहार गराउने रणनीति भारतले अपनाएको आकलन गर्न सकिन्छ । रअ प्रमुखलाई पठाएपछि नेपालभित्र कस्तो प्रतिक्रिया उत्पन्न हुन्छ भन्ने बुझेरै पठायो ।

केपी ओली ‘एकडेढजना पूर्वप्रधानमन्त्री’ भित्र पर्ने नाम होइन । राष्ट्रिय हितको मामिलामा नेपालमा सर्वाधिक विश्वसनीय नाम केपी ओली नै हो । देशहितका लागि भारतसँग ठाडै टक्कर लिने ओलीबाट जाबो गुप्तचर प्रतिनिधिसँग लम्पसार पर्ने काम भयो भनी गरिएको दुष्प्रचार कसैले पत्याउँदैन । पत्याउन हुँदैन पनि ।

रअका प्रमुखलाई नेपाल पठाएर भारतले केके गर्न खोजेको हो प्रष्ट भएको छैन तर यो प्रकरणबाट भारत आफैं नांगिएको छ ।

नेपालमा प्रतिजासूसी

जहाँसम्म नेपालमा विदेशी गुप्तचरीको प्रश्न छ, यसको जवाफ खोजिपस्दा दर्दनाक अवस्था देखिन्छ । सामन्त गोयल जुन भूमिकामा छन्, उनको नेपाली संस्करणको काम एकजना पूर्वप्रधानमन्त्रीले निर्वाह गर्न खोजिरहेको कसैबाट छिपेको छैन । त्यस्ता नेपाली संस्करण धेरै छन् ।

विश्वमा थोरै देशसँग मात्र प्रतिजासूसी निकाय छैन । नेपालसँग पनि छैन । नेपालको प्रतिजासूसी निकाय ०४७ सालमा ‘अब चाहिँदैन’ भनेर किन भंग गरिएको थियो र त्यसमा स्वदेशी विदेशी कसको के भूमिका थियो भन्ने खोज्नुपर्ने भएको छ । नेपालमा विदेशी जासूसबारे सरकारलाई थाहा छैन । किनभने औपचारिक रुपमा थाहा पाउने संयन्त्र नै छैन । प्रतिजासूसी संयन्त्र स्थापना गर्न संघीय संसद्मा एउटा विधेयक ल्याइएको छ । त्यस्तो विधेयक पारित गरेर कानुन बनाउँदा लोकतन्त्रको धज्जी उड्छ रे, नागरिक स्वतन्त्रता हनन हुन्छ रे । यसो भन्ने मान्छे नेपालमा उत्पति गराइँदैछ । भारतले विदेशमा गुप्तचरी गर्न रअ चलाउँछ, अमेरिकाले सिआईए चलाउँछ, इज्रायलले मोसाद चलाउँछ, पाकिस्तानले आईएसआई चलाउँछ । नेपालले चाहिँ आफ्नो देशमा विदेशी गुप्तचर पहिचान र निगरानी गर्न संस्था बनाउन हुँदैन रे । यस्तो विचार ठाडै खारेज गर्नुपर्छ र विधेयक पारित गर्नुपर्छ ।

भारतले रअ प्रमुखलाई पठाएर के पनि सन्देश दिन खोजेको हो भने तिम्रा देशको एकएक सूचना हामीसँग छ । नहोस् पनि किन ? राजनीति र प्रशासनको उपल्लो पदमा रहेका खासखास महानुभावहरुको विचार र व्यवहार हेर्दा तिनलाई सामन्त गोयलको नेपाली कारिन्दा भन्न सुहाउँछ ।

नेपालको वर्तमान सरकारले भारतसँग कूटनीतिक र सैन्य मोर्चामा मात्र नभएर गुप्तचरी मोर्चामा समेत द्धन्द गरिरहनुपरेको तथ्य सामन्तको भ्रमणले उजागर गरेको छ । नेपाल सधैं भारतसँग सुमधुर सम्बन्धको पक्षमा छ । भारतले नै थिचोमिचो गरेर सम्बन्ध बिगार्ने काम गर्ने गरेको छ । सैन्यवादी बन्दै गएको भारतसँग आगामी दिनमा सम्बन्ध सहज नहुन सक्छ । नेपालले समधुर सम्बन्ध विकास गर्न तथा आफ्नो हितका लागि अझ कठोर अडान र कुशल कुटनीति अपनाउनुपर्ने हुन्छ । यसका लागि हाम्रो देशको सरकार बलियो बनाउनुपर्छ, प्रधानमन्त्रीलाई बलियो बनाउनुपर्छ । सुनियाेजित अ‌ाराेप र अफवाहहरुलाई पाखा लगाउँदै विवेकपूर्ण द‌ृष्टीकाेण विकास गर्नुपर्छ ।

नेपालले अझ बलियो बन्दै जानुको विकल्प छैन ।

https://sunrisekhabar.com/ bata

प्रतिक्रिया दिनुहोस