शनिबार, १० असोज २०७७

कोरोना भाइरसबाट जोगिन वैज्ञानिकले विकास गरे नयाँ प्रविधि

शरीरभित्र छिर्न खोज्ने भाइरस यसरी नाकमै रोकिने



काठमाडौं। अमेरिकी वैज्ञानिकहरुले यस्तो इनहेलर बनाएका छन् जसले कोरोनाभाइरस संक्रमण रोक्ने काममा पीपीइभन्दा पनि बढी सुरक्षा दिनेछ । यो दावी क्यालिफोर्निया युनिभर्सिटीका शोधकर्ताहरुले आफ्नो शोधपत्रमा गरेका हुन् । यो इनहेलरलाई एरोनेब्स नाम दिइएको छ । यसलाई प्रयोग गर्नको लागि आफ्नो नाकमा स्प्रे गर्नुपर्नेछ । युनिभर्सिटी अफ क्यालिफोर्नियाको आधिकारिक वेबसाइटमा यो शोधबारे विस्तृत रिपोर्ट प्रकाशित गरिएको छ ।

यो इनहेलरमा विशेष किसिमका ‘नानोबडी’ छन् जो कोरोनाभाइरसलाई पीपीइले भन्दा प्रभावकारी तरिकाले रोक्न सक्षम छन् । यो नानोबडी लामा र ऊँटजस्ता जनावरहरुमा पाइन्छ जसले शरीरलाई निकै प्रभावकारी रोग प्रतिरोधी क्षमता दिन्छन् । इनहेलरमा प्रयोग गरिएको नानोबडी भने प्रयोगशालामा तयार गरिएको हो । लामा र ऊँटको रगतबाट लिइएको नानोबडीलाई प्रयोगशालामा जैविक तरिकाले परिमार्जन (जेनेटिकली मोडिफाइ) गरेर खास रुपमा कोरोनाभाइरसलाई नै रोक्ने गरी विकसित गरिएको हो ।

प्रयोगशालामा प्रयोगको क्रममा कोरोनाभाइरसले शरीरमा गर्ने संक्रमण रोक्न एन्टिबडीले काम गर्ने देखिएको थियो । एन्टिबडीजस्तै नानोबडी पनि प्रोटिनबाटै बनेका हुन्छन् । नानोबडी एन्टिबडीको सूक्ष्म रुप हो । नानोबडी प्रयोगशालामा निकै अधिक संख्यामा बनाउन सकिन्छ । नानोबडीको खोजी १९८० मा बेल्जियमको एक प्रयोगशालामा भएको थियो ।

शोधकर्ताहरुका अनुसार जब कोरोनाभाइरसले संक्रमण फैलाउनको लागि आफ्नो स्पाइक प्रोटिनको सहायताले मानिसको एसिइ २ रिसेप्टरसँग जोडिने प्रयास गर्छ, त्यहीँ यी नानोबडीले भाइरसको प्रोटिनलाई रोकिदिन्छन् । यस्तो भएपछि भाइरस मानव शरीरको एसिइ २ रिसेप्टरसँग जोडिन पाउँदैन र संक्रमण हुँदैन । एसीइ २ रिसेप्टर मानिसको शरीरका कोशिकाहरुको सतहमा हुन्छ र यो कोरोना संक्रमणको प्रवेश द्वार हो ।

शोधकर्ता पीटर वाल्टरका अनुसार जबसम्म कोरोना भ्याक्सिन बन्दैन वा जसलाई भ्याक्सिन उपलब्ध हुँदैन तबसम्म एरोनेब्स भाइरसबाट सुरक्षित राख्ने स्थानी विकल्प हुन सक्छ । सार्स महामारीको समयमा पनि कोरोनाभाइरसलाई (सार्स पनि एकप्रकारको कोरोनाभाइरस नै हो) न्युट्रल गर्नको लागि नानोबडी विकसित गरिएका थिए । शोधकर्ता डा. आशिष मांगलिकका अनुसार शोधकर्ताहरुले प्रयोगशालामा २१ प्रकारका यस्ता नानोबडी विकसित गरेका छन् जो कोरोनाभाइरसविरुद्ध काम गर्छन् ।

शोधकर्ताहरुले यो नेजल स्प्रे (नाकमा गरिने स्प्रे) लाई आम मानिसहरुसम्म पुर्याउन उत्पादक कम्पनीसँग सम्झौता गर्दैछन् । यसको ह्युमन ट्रायल छिटै सुरु हुने अपेक्षा गरिएको छ । यदि यो स्प्रे अपेक्षा गरिए अनुसार प्रभावकारी देखिएमा यो महामारी रोक्नको लागि निकै सहज र सुविधाजनक उपाय बन्ने शोधकर्ताहरुले बताएका छन् ।

हेर्नुहोस् युनिभर्सिटी अफ क्यालिफोर्नियाको आधिकारिक वेबसाइटमा यो शोधबारे विस्तृत रिपोर्ट 

DCnepalbata

प्रतिक्रिया दिनुहोस