शुक्रबार, १९ मंसिर २०७७

‘सानोतिनो झोँकाले नेकपा फुट्दैन’– पर्यटनमन्त्री भट्टराई



फाइल तस्बिर

भद्रपुर, झापा । नेकपा स्थायी कमिटी सदस्य एवं संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले सानोतिनो हावाको झोँकाले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नफुट्ने बताउनु भएको छ ।
बुधवार झापाको बिर्तामोड स्थित नेकपाको पार्टी कार्यालयमा प्रेस सङ्गठन नेपाल जिल्ला कार्यसमिति झापाको शपथग्रहण समारोहलाई बिर्तामोडस्थित पार्टी कार्यालयमा सम्बोधन गर्दै मन्त्री भट्टराईले अहिलेको विवादलाई सामान्य हावाको झोँकाको संज्ञा दिँदै अहिलेकै संवादका कारण पार्टी नफुट्ने बताउनु भयो । पार्टी एकता संकटमा रहे पनि शीर्षस्थ नेताहरुको सुझबुझले पार्टी एकता जोगिने उहाँको विश्वास थियो ।

मन्त्री भट्टराईले प्रतिकात्मक रूपमा नेकपालाई ‘ज्वरो’ आएको भए पनि ‘कोरोना संक्रमण’ नभएको भन्दै यो ‘सिजनल फ्लु’ आफैँ निको हुने उल्लेख गर्नुभयो ।

पार्टीका विषयमा विभिन्न कोणबाट अनेक अड्कलबाजी गरिएको र भ्रम फैलाउने काम भएको भन्दै मन्त्री भट्टराईले पार्टी एकता जोगाउन सम्पूर्ण कार्यकर्ता पङ्क्ति एकजुट हुनुपर्ने बताउनु भयो ।

साथै, मन्त्री भट्टराईले नेपालका ठूला मिडिया पुँजीवादी पक्षधर भएको बताउँदै सङ्घीय गणतन्त्र नेपालको रक्षा र समाजवाद प्राप्तिका लागि सङ्गठनमा आबद्ध पत्रकारहरूले सशक्त ढङ्गले कलम चलाउनुपर्ने बताउनु भयो ।

प्रेस सङ्गठन झापाका संयोजक मुक्ति पौडेलको अध्यक्षतामा सम्पन्न शपथग्रहण समारोहमा नेकपाका केन्द्र, प्रदेश र जिल्ल स्तरका नेताहरूको उपस्थिति थियो ।

पर्यटनमन्त्री भट्टराईले हिजै साँझ चन्द्रगढी विमानस्थलको स्तरोन्नतिका लागि तयार पारिएको विस्तृत अध्ययन प्रतिवेदन सम्बन्धमा सरोकारवालाहरूसँग छलफल गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस